Home / समाचार / बाँदरमुढे पीडितलाई माओवादी धम्की : पुरानो घटनालाई चुनावी मुद्दा बनाए ज्यान जान सक्छ

बाँदरमुढे पीडितलाई माओवादी धम्की : पुरानो घटनालाई चुनावी मुद्दा बनाए ज्यान जान सक्छ

काठमाडौं । चितवनको माडीमा बाँदरमुढे घटनाका पीडितलाई नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले पुनः ज्यान मार्ने धम्की दिएका छन् ।

बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्षसमेत रहेका कृष्ण अधिकारीले माओवादी र वाईसीएल कार्यकर्ताले फेरि मार्ने धम्की दिएको बताए ।

पुरानो घटनालाई चुनावी मुद्दा नबनाउन उनीहरुले चेतावनी दिएको अधिकारीले बताए ।

“वाईसीएल कार्यकर्ता र प्रचण्डका भाइ नारायण दाहाल हिजो आएर अहिले पुरानो घटना नब्युँताउनू, चुनावपछि जे पनि हुन सक्छ । ज्यानसम्म जान सक्छ भनेर धम्क्याए,” अधिकारीले भने, “हामी पीडितले प्रचण्डलाई भेटेर विरोध जनाउने तयारी गरेका थियौं ।  आज भेट्ने कुरा पनि गरेका थिए तर हिजै नारायण दाहाल र केही वाईसीएलका कार्यकर्ता आएर मार्नेसम्मका धम्की दिए । यहाँ चुनाव भन्दा पनि आतंक मच्चाउने काम भयो । बाँच्न नै समस्या भयो ।”

उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज माडीको बाँदरमुढे पुगेर स्मारकमा माल्यार्पण गरेका छन् ।

उनले सो क्रममा सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुल बताएका थिए ।

१२ वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा यात्रुबाहक बस पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

२०६२ जेठ २३ गते माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ गैरहेको ना २ ख ३२४५ नम्बरको बस कल्याणपुर र वसन्तुपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा एम्बुसमा परेको थियो ।

बाह्रखरी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*