Home / Feature Breaking news / प्रदेश नम्बर २ मा मतदान सकियो, झण्डै ७० प्रतिशत मत खस्यो

प्रदेश नम्बर २ मा मतदान सकियो, झण्डै ७० प्रतिशत मत खस्यो

दाङ, २ असोज

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्र्तगत आज प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा ८ ओटै जिल्लामा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीयले उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन् । आयोगका अनुसार झण्डै ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

शीतल मौसममा मतदाताहरु उत्साहपूर्वक तरिकाले मतदानमा सहभागि भएको प्रदेश नम्बर २ का सामुदायिक रेडियोका सहकर्मीहरुले जनाएका छन् । उत्साहजनक रुपमा मतदाताहरु मतदानमा सहभागी भएको भएपनि थप जानकारी भने आँउन बाँकी नै रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६ सय २७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।

यसैबिच, प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहनुभएका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिनुभयो ।

राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र महेन्द्रराय यादवले गृह जिल्ला सर्लाहीबाट मतदान गर्नु भएको छ । राजेन्द्र महतोले चन्द्रनगर गाउँपालिकाको दुर्गा खोभारी उमावी मतदान केन्द्र बबरगञ्ज र महेन्द्र राय यादवले हरिपूर्वा नगरपालिकाको रामजानकी मतदान केन्द्र बसन्तपुरबाट मतदान गर्नुभयो ।
दुबै नेताले बिहान ८ बजे अघि नै मतदान गर्नु भएको हो । चन्द्रनगरमा नेता राजेन्द्र महतोका दाजु महेन्द्र महतो राजपा नेपालका तर्फबाट प्रमुखमा उमेदवार हुनुहुन्छ । राजपा नेपालका संयोजक महन्थ ठाकुर भने खुट्टा दुखेर हिंड्न कठिन भएपछि उपचारका लागि हिजो गृह जिल्ला सर्लाहीबाट काठमाडौं फर्किनु भएको छ । उहाँ मलंगवा नगरपालिका वडा नम्बर ८ मतदाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*