Home / Feature Breaking news / बर्षाका कारण ७२ लाख इटा नोक्सान, ४ करोड बढिको क्षति

बर्षाका कारण ७२ लाख इटा नोक्सान, ४ करोड बढिको क्षति

दाङ, २६ चैत । चालु हिंउदमा चैत २३ गतेको बर्षातले मात्र जिल्लामा कम्तिमा ४ करोड मुल्य वरावरका इटा नोक्सानी भएको छ । वेमौसमी झरीको क्षति संकलन गरी दाङ जिल्ला इटा व्यवसायी संघले यो तथ्यांक सोमवार सार्वजनिक गरेको हो । संघका अनुसार जिल्लाका ३२ इटा उद्योगहरुमा कम्तिमा ७२ लाख इटा नोक्सान हुंदा करीव साढे ४ करोड क्षति भएको हो । यस अघि फागुन पहिलो साताको झरीले पनि करोडौं मुल्यका इटा क्षति भएका छन ।

अस्वाभाविक हिउँदे झरीले कांचो इटामा व्यापक क्षति पु¥याएपछि इटाको मुल्यमा समेत भारी बृद्धि हुन सक्ने इटा व्यवसायी संघले जनाएको छ । मुल्यबृद्धि हुंदा प्रति इटा १८ रुपैया सम्म पर्न सक्ने इटा व्यवसायीहरुले संकेत गरेका छन् । मुल्यबृद्धिसंगै इटाको अभाव समेत हुन सक्ने व्यवसायीहरुको अनुमान छ । बर्षात अघि अव नयां इटा पुनः बनाउने सम्भावना समेत न्युन रहेको व्यवसायीहरुले बताएका छन् ।

सीपुर उपमहानगरपालिका–१७ वनकट्टास्थित प्रविण फिक्स चिम्नी इट्टा उद्योगका प्रोपाइटर सुशील वली बेचैनीमा छन् । यो साता मात्र उनको उद्योगमा करीव डेढलाख कांचा इटा झरीमा नोक्सान भए । यस अघि फागुन पहिलो साताको झरीले पनि उनका कम्तिमा ३ लाख इटा नोक्सान भएका थिए । करीव १५ विगाहामा सुकाइएका काचा इट्टालाई त्रिपाल र प्लाष्टिकले लामो झरीबाट जोगाउने सम्भव भएन । हेर्दाहेर्दै झरीमा पग्लिए ती कांचा इटा ।
‘पहिलो उत्पादनमै तुसारापात भयो, जोगाउने विकल्पै थिएन, वली भन्छन्, कम्तिमा दुई करोड रुपैया बराबरको नोक्सानी भएको छ’, यद्यपी क्षतिको एकिन विवरण भने अझै आइसकेको छैन । उनलाई अहिले मज्दुरलाई भुक्तानी गर्न पनि ऋण ल्याउने अवस्था आएको छ । उनले अघिल्लो हिंउदमा मात्रै करीव २ करोडको लगानीमा वनकट्टामा १६ विगाहा जमिन लिजमा लिएर सो उद्योग सञ्चालन गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका–१७ बिजौरी हाडिमेस्थित शिव इट्टा उद्योगका सञ्चालक प्रेम बस्नेतको पनि यो बर्षको हिंउदे झरीले चैन हराएको छ । चैत २३ गतेको झरीले मात्र उनका साढे ४ लाख कांचो इटा नोक्सान भएभने अघिल्लो महिना पनि उनको उद्योगमा सेक्नका लागि तयार गरिएका कम्तिमा १२ लाख इट्टा झरीमा पग्लिएका थिए । सामान्य प्लाष्टिक र त्रिपालले केहि बढीमा दुई लाखसम्म इट्टा जोगाए पनि लामो झरीका कारण सबै इटा त्यसरी जोगाउन सम्भव भएन । ‘यो बर्षको प्रायः ९० प्रतिशत लगानी हिंउदे झरीमा बगेको छ, बचेको छ बेचैनी र खिन्नता मात्रै’ –सो उद्योगका सञ्चालक बस्नेतले भने । एउटा काचो इट्टाको लगानी मात्रै झण्डै डेढ रुपैया पर्न आउने उनले बताए । कहिले काहीँं प्रकृति नै प्रतिकुल भए पनि यसरी अस्वाभाविक क्षति हुने गरेको उनको अनुभव छ । तर यस्तो प्रतिकुल झरीमा सबै इट्टा जोगाउने विकल्प न व्यवसायीहरुसंग छ, न राज्यलेनै सहुलियत दिने गरेको छ, यस्तो प्राकृतिक क्षतिमा ।

यो बेचैनी न्यू मनकामना इट्छा उद्योगलाई झनै बढी छ । यसका सञ्चालक रोम वली हुन् । चैत २३ मा मात्र उनको उद्योगबाट ४ लाख इटा नोक्सान भए । यस अघि माघ अन्तिम सातादेखिको झरीले पनि ४ दिनको निरन्तर वर्षातका कारण न्यू मनकामना फिक्स इट्टा उद्योग र गोल्ड व्रिक उद्योगमा कम्तिमा ४० लाख इट्टा नोक्सान भएका थिए । ‘हेर्दा हेर्दै झरीले यति धेरै काचो इट्टा नोक्सानी ग¥यो, जोगाउने विकल्प व्यवसायीहरुसंग छैन’–वलीले भने, यस्तो अवस्थामा राज्यले हेर्नुपर्ने हो, तर यो समस्यामा राज्य सरकार बेखबर छ ।

धेरै उद्योगहरुमा विमा भए पनि इट्टा उद्योगमा भने यस्तो क्षतिको उपयुक्त विमा पोलिसी नै नभएको उनको भनाइ छ ।

बस्नेत र वली त इट्टा व्यवसायीका प्रतिनिधिपात्र मात्र हुन् । यसरी फागुन र चैत तेस्रो साताको हिउँदे झरीले जिल्लाभरका कम्तिमा ३२ इट्टा उद्योगमा करोडौं इट्टा नोक्सान पारेको छ । कुनै पनि इट्टा उद्योग सञ्चालकले नोक्सानी जोगाउन सकेका छैनन् । दाङ–देउखुरी इट्टा उद्योग व्यवसायी संघका अनुसार तीन साता अघिको वर्षातले कम्तिमा १० करोड रुपैया बराबरको काचो इट्टा क्षति भएको थियो भने फेरी यसैसाताको बर्षातले गतसाता आएको लामो हिंउदे झरीले फेरी त्यो भन्दा बढी क्षति भएको छ । ‘अझै बर्षभरीको पुरै एकिन क्षति विवरण प्राप्त भईसकेको छैन, तर दुवै झरीले कम्तिमा ३० करोड मुल्यभन्दा बढिको काचो इट्टा नोक्सान भएका छन् ।

झरीका कारण जिल्लामा सञ्चालनमा आएका ३२ वटै इट्टा उद्योगहरु अहिले बन्द हुने अवस्थामा छन् । हाल बजारमा इट्टाको सर्टेज हुन थालेको छ । पुराना इट्टा खपत भईसकेका छन् भने नयाँ इट्टा आउने सिजनमा प्राकृतिक प्रकोप हुँदा सबै इट्टा नोक्सानी भएका छन् । यो समस्या दाङ जिल्लामा मात्र नभएर मुलुक भरीकै हो । केहि व्यवसायीहरुले मात्र पहिलो लट फायर गरीसकेका थिए, धेरैले फायर गर्ने तरखरमा थिए । काचो इटा सुकाएपछि मात्रै इटा फायर गर्न मिल्छ । दाङका कुनै पनि उद्योगले पहिलो लट इट्टा समेत तयार गर्न भ्याएका थिएनन् ।

मुल्य बढ्ने संकेत
झरीसंगै करोडौं इट्टा नोक्सानी भएपछि जिल्लामा इट्टाको मुल्यमा भारीवृद्धि हुने संकेत देखिएको छ । हाल एक नम्बरको प्रति इट्टा मुल्य १५ रुपैयामा विक्रि हुँदै आएको छ । इट्टा व्यवसायीका अनुसार अब आउने इट्टाको मुल्यमा केहि वृद्धि हुने बताइएको छ । सम्भवतः एउटा इट्टामा २ रुपैयासम्म शुल्क बढ्न सक्ने बताइएको छ । यद्यपि इट्टा व्यवसायी संघले भने यसको अझै आधिकारीक निर्णय भने गरेको छैन । संघका अध्यक्ष रोम वली भन्छन्–‘भर्खरै क्षति संकलन र मुल्यांकन गर्दै छौं, कति वृद्धि हुने भन्ने विषयमा अझै निर्णय भईसकेको छैन ।’ यद्यपी मुल्य बढ्नेमा ढुक्क हुन उनले उपभोक्ताहरुलाई आग्रह गरेका छन् । धेरै क्षति भएको भन्दै केहि क्षति व्यवसायीले व्यहोर्ने र केहि क्षति मुल्य बढाएरै पनि सन्तुलन गर्ने तयारी भएको पनि संघले जनाएको छ । किनकि सरकारले यस्ता प्राकृतिक प्रकोपमा इट्टा व्यवसायीहरुलाई क्षतिपूर्ति एवं राहत र विमा दिने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*