Home / प्रदेश समाचार / छिल्लीकोटमा नेपाली सेनाद्वारा भौतिक निर्माण

छिल्लीकोटमा नेपाली सेनाद्वारा भौतिक निर्माण

गोरक्ष समाचारदाता

तुलसीपुर, २१ जेठ । नेपाली सेनाको क्वीक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा नेपाली सेनाले केही भौतिक निर्माणका काम सम्पन्न गरेको छ । गत फागुनको दोस्रो सातादेखि सुरु भएको निर्माणका काम सम्पन्न भएपछि बिहीवार एक कार्यक्रमका बीच ती संरचनाहरु स्थानीय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

छिल्लीकोटस्थित कालिका–मालिका मन्दिर परिसरमा नेपाली सेनाले भौतिक संरचना निर्माण सम्पन्न गरेको हो । प्राचीन इतिहास र धार्मिक महत्व बोकेको मन्दिर परिसरमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउने नीतिअनुरुप नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भौतिक संरचना निर्माण सम्पन्न भएसँगै बिहीवार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको आफ्नै कोषबाट विनियोजित १० लाख रुपैयाँ तथा श्री रणसिंहदल गणको श्रमदानबाट निर्मित भौतिक संरचना सेड घर, ९३ वटा फलामे बेन्च तथा २ सिटे शौचालयहरुको श्री १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मदनकुमार केसीले कालिका मन्दिर समितिका अध्यक्ष पूर्ण पुनलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा वडाध्यक्ष रामबहादुर योगी, स्थानीय समाजसेवी परबीर पुनलगायतको सहभागिता रहेको थियो ।

भौतिक निर्माण सम्पन्न भएसँगै स्थानीयबासीहरु हौसिएका थिए । नेपाली सेनाका कर्णेल उज्वल थापाका अनुसार सो भौतिक निर्माणमा ११ जना नेपाली सेनाका जवान पूर्णरुपमा खटिएका थिए भने स्थानीयबासीहरुले पनि केही सहयोग गरेको बताइएको छ । कर्णेल उज्वल थापाका अनुसार एकीकरण मार्ग कार्यक्रमअन्तर्गत तथा नागरिक सम्बन्ध सुमधुर बनाउने अभियानअनुरुप १० लाख रुपैयाँ बजेटबाट, ऐतिहासिक महत्व बोकेको स्थान भएकाले यस स्थानलाई छनोट गरिएको हो ।

कोभिडको स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै यी संरचना निर्माण गरिएको हो । नेपाली सेनाको १९ नम्बर बाहिनीले कोरोना भाइरसको संक्रमणको नियन्त्रणका सन्दर्भमा आवश्यकताअनुसार जिल्लामा विभिन्न स्थानमा हेलिप्याड निर्माण गर्ने, आवश्यक परेको स्थान सामुदायिक क्वारेन्टाइनहरुमा टेन्ट उपलव्ध गराउनेलगायतका विविध काममा अर्थपूर्ण सहयोग गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*