दाङ, २६ भदौ
नगर क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि घोराही उपमहानगरपालिकाको आफ्नो निश्चित ‘डम्पिङ साईट’ छ । उपमहानगरपालिकाले नगर क्षेत्र भित्रबाट निस्कने फोहर घोराहीको तेरौटे स्थित उक्त डम्पिङ साईटमा मात्रै व्यवस्थापन गर्ने नीति बनाएको छ ।
यसका लागि जथाभावी फोहर नफाल्न नगरवासीहरुलाई सचेत समेत गराउँदै आएको छ । डम्पिङ साईट भन्दा बाहिर घोराही लमही सडक खण्डको चौपट्टामा डम्पिङ साईट बराबर फोहरको खात लागेको छ । त्यहाँ ट्रकमा लोड गरेर फोहर फाल्ने गरिएको पाईएको छ ।
ट्रकबाटै फोहर फालिएका कारण उक्त स्थान अत्यन्त दुर्गन्धीत बनेको छ । त्यहाँ सीसा तथा बोतलहरुको खात लागेको छ । ‘यहाँको फोहर कसले किन फालेको भन्ने बारे हामी पत्ता लगाउँछौँ,’ घोराही उपमहानगरपालिकाका वडा अध्यक्ष रमेश पाण्डेले भने ‘यस्तो जथाभावी जसले गरेको भएपनि त्यो कारवाहीमा पर्छ ।’ घोराही बजारबाटै उठेको फोहर ट्रकमा लोड गरेर त्यहाँ फालेको आँफूलाई जानकारीमा आएको पाण्डेले वताए ।
पाण्डे सहित उक्त स्थानमा फालिएको फोहर अनुगमनका लागि गएका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही बजार क्षेत्रका सीसा पसल सञ्चालक तथा कवाडी व्यवसायीहरुलाई उक्त फोहरका बारेमा सोधपुछ गरिने वताए ।
‘यो फोहर यात सीसा पसलबाट झरेको हो, या त कवाडी व्यवसायिहरुले फालेका हुन्,’डाँगीले भने ‘यसको सत्य तथ्य पत्ता लगाएर कारवाहीको दायरामा ल्याउनु हाम्रो अबको पहिलो काम हो ।’ उनले फोहर व्यवस्थित पार्ने आँफुहरुको योजना विपरीत गएर जथाभावी फोहर फाल्नेलाई कारवाहीको दायरामा ल्याईने बताए ।