दाङ, १७ भदौ
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आद्यात्मिक ज्ञान र आधुनिक विकासलाई जोडेर लग्न सकेमा समाजको विकास हुने वताएका छन् । उनले आध्यात्मिक ज्ञानले असल नागरिक उत्पादन गर्ने भएको भन्दै चेतना गाउँसम्म फैलाउन सुझाव समेत दिए ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङ्गले गरेको जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, सदस्य र नेपाल वार एशोसिएसन इकाइ दाङ्गका नव निर्वाचित कार्यसमितिको स्वागत सम्मानमा प्रमुख वक्ता नेपालीले यस्तो वताएका हुन । मानिसमा भएको सुजनशीलता, प्रतिभा, खोज अनुसन्धानले इतिहास रच्ने तथा भावी समाजका लागी महत्वपूर्ण योगदान दिएर जाने समेत वताए ।
‘जीवनमा सुख दुःखको कारण कुनै व्यक्ति विशेष नभएर मनुस्य आफैले गरेको कर्मको प्रतिफल हो’ उनले भने ‘ मानव जिवनमा आध्यात्मिक चिन्तनको विकास आवश्यक छ ।’ ब्रह्माकुमारी संस्थाले गरेको सेवाभावबाट आफु प्रभावित भएको भन्दै आद्यात्मिकताको मार्ग समग्र विकासको आधारस्तम्भ भएको समेत बताए । कार्यक्रममा जिससका उपप्रमुख श्रीधर पौडेल शर्माले आद्यात्मिक पथ समाज रुपान्तरणको सकारात्मक गन्तव्य भएको वताए ।
ब्रह्माकुमारी राप्तीक्षेत्र प्रमुख गिता दिदीले तनावले अनेकौ शारीरिक र मानसिक समस्याहरु देखा पर्ने भएकोले योग साधना र सकारात्मक जीवनशैलीले स्वस्थ मन र प्रफुल्लित जीवन वनाउन दृढ संकल्प गर्नुपर्ने विचार राखिन ।
सहनशीलता छोड्न नहुने भन्दै नैतिक शिक्षा अनि आध्यात्मिताद्धारा हामी भित्रको सुक्ष्म क्षमता र शक्तिलाई उजागर गर्न सकिने विचार समेत राखिन । ब्रह्माकुमार शिवलाल महताराको स्वागत मन्तव्यबाट शुरु भएको वधाई सम्मान एवं स्नेह मिलन कार्यक्रममा नेपाल वार एशोसियसन इकाइ दाङ्गका अध्यक्ष प्रदिप गौतम, जिल्ला समन्वय समितिका सदस्य लोका कुमारी विश्वकर्माले शान्ति, सद्भाव एकता कायम राख्न सवैको भूमिका भएको वताएका थिए ।
सम्मानित व्यक्तित्वहरुलाई ब्रह्माकुमारी गीता दिदीबाट ईश्वरीय उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रशिक्षक ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए ।