Home / Feature Breaking news / ‘प्रदेश २ र ५ का एआईजीको कार्यकक्ष अञ्चल कार्यालयमा’

‘प्रदेश २ र ५ का एआईजीको कार्यकक्ष अञ्चल कार्यालयमा’

काठमाडौं, ९ भदौ

प्रदेश राजधानीको टुंगो नलाग्दै प्रदेशको कमान्डमा खटिएका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु साविकको अञ्चल प्रहरी कार्यालयमै बस्ने पक्का भएको छ ।

प्रदेश २ का एआईजी जनकपुरधाम र प्रदेश ५ का एआईजी दाङ तुलसीपुरस्थित अञ्चल कार्यालयहरुमा बस्ने प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । यद्यपि, शुक्रबार प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रवक्ता डीआईजी पुष्कर कार्कीले उनीहरुको कार्यकक्षबारे यकिन भइनसकेको बताए ।

अन्य पाँच वटा प्रदेशका एआईजीहरुले भने साविकका क्षेत्रीय प्रहरी कार्यालयलाई कार्यकक्ष बनाउने टुंगो लागिसकेको छ । प्रदेश २ र ५ मा क्षेत्रीय कार्यालय नभएकाले एआईजीहरुलाई कार्यकक्ष अभाव भएको हो । नयाँ व्यवस्थाअनुसार अञ्चल कार्यालयहरुको नाम परिवर्तन गरेर संघीय प्रहरी एकाइ कार्यालय राखिएको छ ।

एआईजीहरु प्रदेशमा खटिइसकेकाले तत्कालका लागि यसअघिकै संरचना भएका कार्यालयमै प्रदेश प्रहरी कार्यालय स्थापना हुने डीआईजी कार्कीले जानकारी दिए । नयाँ भवन निर्माणतिर लाग्नुभन्दा भएकै संरचनामा प्रदेश प्रहरी राख्नु उपयुक्त हुने उनको भनाइ छ ।

‘प्रहरी संघीय संरचनामा गइसके पनि संघीय प्रहरी ऐन बनिसकेको छैन,’ उनले भने, ‘ऐन बनेपछि सोही बमोजिम कार्यालयहरु स्थापना हुनेछन्, प्रदेशको राजधानी टुंगिए कार्यालयहरु त्यहीं सर्छन् ।’
सरकारले प्रदेश २ एआईजी विजयलाल कायस्थ र प्रदेश ५ मा मिङमार लामालाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाइएको छ ।

पत्रकार भेटघाटमा डीआईजी कार्कीले हालैको बाढीका क्रममा प्रहरीले गरेको उद्धार र राहत कार्यबारे पनि जानकारी दिएका थिए ।

अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*