दाङ, २९ साउन
नेपाल पत्रकार महासंघ दाङकी साधारण सदस्य पार्वती बस्नेतका जीवनसाथी प्रमोद बर्माको स्मृतिमा उनकै निवासमा नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चार संगठनहरुले श्रद्धाञ्जलीसभा गरेका छन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा बोल्दै स्वर्गीय प्रमोद बर्माका पिता सिताराम वर्माले आप्mना छोराको हत्या गरिएको भन्दै दोषीलाई कडा कारवाही हुनुपर्ने बताए । यसका लागि आफ्नो परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका थिए । सभामा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रमोद बर्माको हत्या भएकोमा दाङका सञ्चार माध्यमहरुको ठहर रहेकाले न्यायका लागि सञ्चार संस्था सहित पत्रकार महासंघ परिवारको साथमा रहेको बताए । शोकलाई शक्तिमा बदल्दै न्यायका लागि लाग्नुपर्ने बताए । यसमा महासंघलगायत सम्पूर्ण सञ्चार माध्यमहरुको साथ र सहयोग रहने समेत उनको भनाई रहेको छ । रेडियो स्वर्गद्वारीमा कार्यरत पत्रकार महासंघकी साधारण सदस्य, क्रियाशील पत्रकार महिला दाङकी सचिव तथा प्रेस युनियन दाङकी सदस्य पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्मा नेपाल बैंक शाखा कार्यालय गुलरिया बर्दियाका म्यानेजर रहेका थिए । उनको गत शनिवार रातिदेखि परिवारको सम्पर्कमा नरहेको र सोमवार अगैयाको जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । परिवारका तर्फबाट ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी समेत दिएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस सेण्टर नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रियाशील पत्रकार महिला दाङको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रमको सहजीकरण महासंघका सचिव भूपेन्द्र वलीले गरेका थिए ।
RaptiSandesh RaptiSandesh