घोराही, १२ साउन ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले आउदो माघ भित्रै सवै तहका निर्वाचन गर्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल पाँच नम्वर प्रदेश स्तरीय विस्तारीत बैठकलाई आज घोराहीमा सम्वोधन गर्दै नेता पोख्रेलले तोकिएकै समयसीमाभित्र सवै तहका निर्वाचन गरिसक्नुपर्ने बताउनुभयो ।
उहाँले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा खुटटा कमाइरहेको आरोप लगाउनुभयो । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नै माघ ७ भित्र चुनाव गर्न नसके संसदको अवधि बढाउन सकिने भन्दै हिड्नुले काँग्रेस संविधान कार्यान्वयनमा जिम्मेवार नभएको पोख्रेलले बताउनुभयो ।
उहाँले एमालेले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भूमिकाकै कारण जनताले स्थानीय तह निर्वाचनमा हालसम्म ठूलो पार्टीका रुपमा एमालेलाई स्थापित गरेको भन्दै दुइ नम्वर प्रदेशमा पनि सवैभन्दा ठूलो दलको रुपमा उदाउने दावी गर्नुभयो ।
नेता पोख्रेलले स्थानीय तह निर्वाचनमा प्रेस चौतारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी चुनावमा पनि सहयोगको अपेक्षा गर्नुभयो । सो अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई साझा चरित्रको बनाउन सवै विचार संवद्ध पत्रकारहरुवीच सहकार्य गरेर जानुपर्ने बताउनुभयो ।
उहाँले सहकार्यको प्रयास जारी रहेकाले अझै आशा गर्न सकिने बताउनुभयो । नेपाल पत्रकार महाँसंघको आगामी नेतृत्वका विषयमा छलफल गर्न आयोजीत प्रेस चौतारी पाँच नम्वर प्रदेश स्तरीय विस्तारीत बैठकले महासंघको नेतृत्वकालागि एकतावद्ध भएर लाग्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वकालागि उम्मेदवार चयन गर्न मापदण्ड तयार गर्ने निर्णय समेत गरिएको छ । चौतारी दाङका अध्यक्ष टीका वस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
RaptiSandesh RaptiSandesh