Home / Feature Breaking news / डेढ विगाह जमिनमा व्यवसायीक केरा खेती

डेढ विगाह जमिनमा व्यवसायीक केरा खेती

दाङ,२१ चैत । कुनै बेला खर र अजमरी झाङले ढाकेको डाडामा एक व्यक्तिले व्यवसायी केरा खेती गरेका छन । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर रतनपुरमा रोल्पा माडीगाउँपालिका–५ झौवाङ निवासी नरबहादुर वली र खगेन्द्र वलीको परिवारले व्यवसायीक केराखेती गरेका हुन ।

हापुर रतनपुरमा रहेको माध्यामिक विद्यालयको करिव १५ विगाह जमिन भाडामा लिएको वली परिवारले डेढ विगाह बढि जमिनमा केरा खेती गरेका हुन । जसमा मालभोग जातका आठ हजार केराका विरुवा रोपिएको छ ।
खरकट्टी र झाङ फालेर गतबर्षदेखि केराको व्यवसायीक खेती गरेको व्यवसायी नरबहादुर वलीले बताए ।

उनले हापुर रतनपुर बहुउद्देश्यीय कृषि फर्ममार्फत व्यवसाय गरेका छन । फर्मले रिजमवाट केरा व्यवसायका लागि अनुदान प्राप्त गरेका छ । अनुदानवाट मालभोग जातको केरा रोपिएको हो । ‘खरकट्टी डाडामा पहिलो पटक केरा खेती गर्दा केरा खेती फस्टाउन सकेको छैन’,व्यवसायी वलीले भने,‘ त्यसैमा पुस र माघ महिनामा परेको पालाले बोट नै मार्दिएको छ ।’ पालाको कारण धेरै बोटहरु मरेको उनले बताए ।

पहिलो पटक व्यवसायमा हात हालेको र प्राविधिक ज्ञान नहुँदा सोचे जस्तो केराखेती हुन नसकेको उनले बताए । ‘केही विरुवाहरु उत्पादन दिने अवस्थामा रहेका छन,’उनले भने,‘तर अधिकांस विरुवाहरु राम्रोसँग बढ्न सकेका छैनन् ।’ माटो मलिलो नहुदाँ व्यवसाय राम्रोसँग फस्टाउन नसकेको उनले बताए । केराखेतीमा पानीको सिचाईको लागि सोलारको व्यवस्था गरेका छन ।

सोलारका माध्यमवाट हापुर खोलाको पानी तानेर केरालगायतका अन्य तरकारी वालीमा सिचाईको व्यवस्था गर्ने गरेको वलीले बताए ।जमिन भाडामा ल्याउनेदेखि केरा व्यवसायमा अहिलेसम्म करिव ३९ लाख रुपैयाँ खर्च भईसकेको छ । डेढ विगाहमा व्यवसायीक केरा खेती गरेका वलीले करिव एक विगाह जमिनमा अन्य व्यवसाय गर्दै आएका छन ।

एक विगाह जमिनको बार्षिक छ हजार चार सय ६० रुपैयाँमा विद्यालयलाई दिने गरि विद्यालय र उनका विचमा जमिन २० बर्षको लागि ठेक्का सम्झौता भएको छ । जसअनुसार पहिलो पाँच बर्षसम्म छ हजार चार सय ६० रुपैयाँ,त्यसपछि पाँच बर्षकालागि पाँच प्रतिशत वृद्धि,त्यसको पाँच बर्षपछि दश प्रतिशतले वृद्धि हुने सम्झौता गरिएको उनले बताए । व्यवसायका लागि आफुले २१ लाख र भाईले १८ लाख रुपैयाँ ऋण लिएको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*