तुलसीपुर, २६ असार । कांग्रेसलाई सच्चा कार्यकर्ता एवम् मतदाता चाहिएको छ । वर्षभरि कांग्रेस भएर निर्वाचनका दिन रूखमा मत नदिने कांग्रेसालाई छानी–छानी कारबाही गर्न तल्लो तहका जनप्रतिनिधिले सुझाएका छन् । रूखको मुनि बसेर अन्तै भोट हाल्ने कांग्रेस नामका मतदातालाई छानी–छानी अनुशासनको कारबाही गर्न कांग्रेस अनुशासन विभागलाई उनीहरूले आग्रह गरेका छन् ।
तुलसीपुरमा नेपाली कांग्रेस क्षेत्रीय निर्वाचन समितिले आयोजना गरेको जनप्रतिनिधिका लागि स्वागत सम्मान कार्यक्रममा पालिकाका जिम्मेवार व्यक्तिहरूले सम्मान पाउँदा जति खुसी थिए, त्यति कांग्रेस भएर पनि रूखमा मत नदिनेहरूप्रति उनीहरूको तीव्र गुनासो थियो ।
स्वागत सम्मान कार्यक्रममा चुनाव जितेकाहरू धेरै खुसी थिएनन्, उनीहरूको आक्रोश पनि थियो । आफू जित्दा पालिकाको कार्यपालिका हारिरहेको छ । वहुमत हुँदा पनि कांग्रेसले कार्यपालिका बनाउन सकेन । बबई गाउँपालिकाको यस्तै अवस्था छ । बधाई तथा सम्मान कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसीले कांग्रेसमा अनुशासन विभाग कमजोर भएको बताए ।
‘चुनाव हार्छु, जित्छु भन्ने अनुमान गरेर कारबाही प्रक्रियालाई थाँती नराख्नुस्, कांग्रेसलाई बलियो बनाउनु छ भने पार्टीको निर्देशन नमान्ने कांग्रेसलाई जसरी पनि कारबाहीको दायरामा ल्याउनुस’, बबई गाउँपालिकाका अध्यक्ष केसीले भने । वहुमत सदस्य कांग्रेसको हुँदा पनि आफ्नै पार्टीका निर्वाचित जनप्रतिनिधिले घात गरेपछि बबई कार्यपालिका एमालेको वहुमतमा बन्यो ।
कांग्रेसबाट चुनाव जितेर सूर्य चिह्न अर्थात् एमालेलाई कार्यपालिकामा जिताउने हैसियत राख्ने बबई गाउँपालिकाका सबै कांग्रेस जनप्रतिनिधिलाई थाहा छ । छातीमा हात राखेर कांग्रेस रोज वा अन्तै पार्टी खोलेर जाउ भन्ने सर्वत्र आवाज उठिरहेको छ । किनकि बाह्रैमहिना कांग्रेस भएर नेताको घर चाहार्ने र आवश्यक परेको बेला अन्य पार्टीलाई सहयोग गर्ने बबईका कांग्रेस मुलुकलाई चाहिएको छैन । त्यही भएर सबै पालिकाका उपप्रमुख आइरहँदा पनि बबई गाउँपालिकाका उपप्रमुखलाई स्वागत सम्मान एवं बधाई दिइएन ।
कांग्रेसमा गुटगत राजनीति त्यो बेला मात्रै हुन्छ, जुन बेला महाधिवेशनको लहर चलिरहेको हुन्छ तर जनप्रतिनिधि भएर पनि त्यही ओहदाका मान्छेले कांग्रेसलाई हराउन पहल गर्छन् भने त्यस्ता मान्छे कांग्रेसमा चहिएको छैन भन्ने पनि अभिव्यक्ति स्वागत कार्यक्रममा आएको थियो ।
अब मुलुकमा दुई तहका चुनावहरू भइरहेका छन् । प्रदेशको चुनाव र संघीय चुनाव पनि एक वर्षभित्रै हुन्छन् होला तर यी दुवै तहका चुनावमा कांग्रेसको नाममा र कांग्रेसको झण्डामुनि बसेर अन्य पार्टीलाई मत हाल्ने कांग्रेसलाई कारबाही गर्न पनि स्थानीय जनप्रतिनिधिले सुझाव दिएका छन् । कांग्रेसको आवरणमा रहेर भोट अन्त दिनुभन्दा आवरणभन्दा बाहिर अन्तै पार्टीमा लाग्न पनि घातीहरूलाई जनप्रतिनिधिले आग्रह गरेका थिए । त्यसका लागि नेपाली कांग्रेस अनुशासन विभाग जिम्मेवार हुनुपर्ने र खुट्टा नकमाउन पनि आग्रह गरिएको थियो ।
रूखमा भोट नहाल्ने कहिल्यै पनि कांग्रेस हुन सक्दैन, स्वार्थपूर्ण राजनीति गर्ने खेमाको नेता जनप्रतिनिधि नभए अन्तै भोट हाल्ने र माग्ने नेता कार्यकर्तालाई कारबाही गर्न पनि बधाई तथा सम्मान कार्यक्रममा आवाज उठेको छ । कम्युनिस्टहरू असन्तुष्ट भएमा अर्को पार्टी खोलिदिन्छन्, कांग्रेस असन्तुष्ट भएमा कम्युनिस्टलाई जिताउँदै आएका छन् ।
यही धरातलीय राजनीति कांग्रेसमा देखिएको छ । कांग्रेसको आवरणमा सूर्यलाई मत दिनेहरूलाई कारबाही गर्न जनप्रतिनिधिले आग्रह गरेका छन् । साथै जनप्रतिनिधिले आफूहरूले पार्टीसँंगको सहकार्यलाई अघि बढाउने पनि आश्वासन दिएका छन् । वर्षैभरि कांग्रेसको आवरणमा रहने र चुनावका दिन रूखमा मत नदिने कांग्रेस नेता कार्यकर्तालाई छानी–छानी कारबाही गर्न सहभागीले बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्काको अध्यक्षतामा भएको कांर्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का पालिका प्रमुख, उपप्रमुख, वडा सदस्य, जिसस उपप्रमुख, जिसस सदस्य तथा कार्यपालिका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । साथै उनीहरूलाई नेपाली कांग्रेस सँगको समिप्यता र कांग्रेसको नीति अनुरूप जनतालाई सेवा प्रवाह गर्न पनि आग्रह गरिएको थियो ।
जनताको मत जित्नुस् : गिरी
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिधिलाई जनतालाई केन्द्रविन्दुमा राखेर जनपक्षीय काममा लाग्न सुझाव छ । नेपाली कांग्रेस क्षेत्र नं. ३ ले तुलसीपुरमा आयोजना गरेको कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले निर्वाचनका बेला जनतासँग गरेका कुराहरू पूरा गर्नतर्फ लाग्न आग्रह गरेका हुन् ।
केही जनप्रतिनिधिले पार्टीले टिकट दिएर चुनावमा लड्ने र कार्यकर्ताले मत दिँदा पनि आफूहरू एकलैले मात्र जितेको जस्तो गर्ने विगतका परम्परा रहेको भन्दै सहभागीले पार्टीसँग समन्वय गरेर जनताको काममा लाग्न सुझाव थियो । त्यस्तै सहभागीले पश्चिम दाङ र दाङका अन्य केही गाउँपालिकाका कांग्रेस एक्लै लडेर पनि जित्ने र मुख्य स्थान तुलसीपुर, घोराही र राप्तीमा हार व्यहोर्दा भने नमीठो लागेको सुनाएका थिए ।
कार्यक्रममा नेताहरूले गठबन्धन हुँदाहुँदै पनि हार व्यहोर्नु परेकाले समीक्षाको विषय भएको बताएका थिए । नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षता नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बोल्दै गिरीले जनताको मन जितेर अगाडि बढ्न जनप्रतिनिधिलाई आग्रह गर्दै शुभकामना दिए ।
केन्द्रीय सदस्य गिरीले हिजोका तीता–मीठा कुरालाई भुल्दै अब आगामी चुनावलाई सफल पार्न सबैलाई आग्रह गरे । ‘हामीले अन्य गाउँपालिका र नगरपालिकामा बहुमतका साथ जित हासिल गरेका छौँ तर मुटुको रूपमा रहेका उपमहानगरपालिकामा भने विजयको मुखमा पुग्दा–पुग्दै पनि प्राविधिक र अन्य केही कारणले चुनाव हार्नुपर्ने भयो, यो हाम्रो लागि नराम्रो हो’, गिरीले भने । उनले अबका आउँदा दिनमा कांग्रेसमा एकताको आवश्यक देखिएको बताए ।
‘एकता नै बल हो, कांग्रेसको नीति विधिलाई सबैले आत्मसात गरेर अगाडि बढ्नु आजको आवश्यकता हो’, गिरीले भने । उनले सबैलाई आगामी मंसिरमा हुने निर्वाचनमा जुट्न र चुनावको तयारीमा लाग्न आग्रह गरे । ‘मतदाता नामावलीदेखि चुनावका लागि सबै तयारीमा जुट्न आवश्यक छ, व्यक्तिभन्दा पनि संस्था ठूलोमा कांग्रेसलाई कसरी विजय गराउने भन्नेमा सबै लाग्नुहोस्’, प्रमुख अतिथि गिरीले भने ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुनले पार्टीको नीति विधिअनुसार जनताको बीचमा हिजोका प्रतिबद्धताहरू पूरा गर्नतर्फ लाग्न जनप्रतिनिधिलाई सुझाव दिए । उनले जनतालाई केन्द्रविन्दुमा राखेर पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।
‘निर्वाचन जिते भनेर समन्वय नगरी मै भाले भने जस्तो नगर्नुहोला, सबैसँग समन्वय गरेर अगाडि बढ्नुहोला’, उनले भने । उनले कांग्रेसको उर्वर भूमि दाङ भए पनि विभिन्न कारणले दाङमा स्थानीय निर्वाचनमा केही स्थान हारर्नुपरेको भन्दै प्रतिशोधको भावनाले पार्टीलाई असर पर्ने बताए । ‘हिजो टिकट वितरणमा पनि केही त्रुटि भए होलान् तर आज हराउनेलाई भोलि फेरि हराउँछन्, त्यो कुरा सबैले मनन् गर्नुहोला’, सभापति पुनले भने ।
सभापति पुनले पार्टीमा घात–अन्तरघात भयो, कारबाही गर्नुपर्छ भन्ने कुरा आएको भन्दै पार्टीको विधि–विधानअनुसार कारबाही हुने बताए । ‘यो फरक विचार राख्ने हो भनेर कारबाही गर्नुपर्छ भन्ने चाहिँ होइन, तथ्य प्रमाण भयो भने घात–अन्तरघात गर्नेलाई कारबाही गर्ने हो, कारबाही गर्ने भनेको पार्टीबाटै निष्काशन गर्नु पनि होइन, विभिन्न विध छन्’, उनले भने ।
लुम्बिनी प्रदेशका सहमहामन्त्री निमा गिरीले लुम्बिनी प्रदेशमा कांग्रेसले समग्रमा राम्रो परिणाम स्थानीय निर्वाचनमा ल्याएको भन्दै दाङमा भने नसोचेको परिणाम आएको बताइन् । उनले यो किन भयो भन्ने विषयमा गम्भीर हुनेपर्ने बताइन् । उनले कांग्रेसको रुट नै बन्द भएको भन्दै चुनाव हार्नुको एउटा प्रमुख कारण त्यो पनि भएको बातइन् । ‘हाम्रो मातृ संघसंगठन कहाँ छन्, के भइरहेको छ, गठन भएको छ, छैन अनि कसरी जितिन्छ चुनाव ? रुट नै बन्द भएपछि उनले प्रश्न गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले कांग्रेसभित्र अनुशासन हराउँदै गएको भन्दै सबै पार्टीप्रति जिम्मेवार हुनुपर्ने बताए । उनले गुटको नेता नभइ सबै कार्यकर्ताको भएपछि पार्टी संगठन बलियो हुने बताए । प्रदेशसभा सदस्य शंकर गिरीले अबको नेतृत्व युवा पुस्ताले लिनुपर्ने भन्दै आगामी निर्वाचनका लागि सबै एक भएर निर्वाचनको तयारीमा जुटनुपर्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले जित्नु हार्नु निर्वाचनमा स्वभाविक प्रक्रिया भएको भन्दै सधैँ एउटै व्यक्तिले सबै पद लिनु राम्रो नहुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति घनश्यमा रेग्मीले आगामी निर्वाचनमा अब एकाकार भएर जानुपर्ने भन्दै आन्तरिक खिचातानीले समस्या उत्पन्न भएको बताए । उनले व्यक्ति गौण भएको भन्दै संस्थालाई बलियो बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेता महादेव शाहले मंसिरमा हुने निर्वाचनलाई मध्यनजर गरी अगाडि बढ्न सबैलाई आग्रह गरे । उनले चुनाव हारेपछि समीक्षाभन्दा पनि टिकट दिँदा कस्तो, कुन व्यक्तिलाई दिने भन्ने समीक्षा आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेस नेता लेवेन्द्र धितालले आगामी निर्वाचनमा अब जिम्मेवार भएर लाग्नुपर्ने भन्दै २ वटा उपमहानगरपालिकामा हार व्यहोर्दा कांग्रेसलाई निकै ठुलो घाटा भएको बताए ।
त्यस्तै नगरसभापति सुरेश हमालले निर्वाचित जनप्रतिनिधिलाई रचनात्म काम गरेर देखाउन भन्दै शुभकामना दिए । उनले नगरमा लज्जास्पद तरिकाले हार व्यहोरेको भन्दै आगामी चुनावमा सबै क्षेत्र जित्ने गरी लाग्नु पर्ने बताए । ‘पार्टीमा नेताको आश पनि छैन त्रास पनि छैन अनि कसरी बन्छ पार्टी’, उनले भने । कार्यक्रममा जिल्ला समन्वय समितिमा उपप्रमुख चेतना चौधरी, प्रदेश सभापतिहरू देवेन्द्र रिजाल, खिमबहादुर वली, नेपाली कांग्रेस बबई गाउँपालिकाका अध्यक्ष प्रकाश बस्नेतलगायतले जनप्रतिनिधिलाई बधाई दिएका थिए ।
कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, दंगिशरणका अध्यक्ष सम्शु गिरी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले नेपाली जनताले कांग्रेस खोजेको, भन्दै आफूहरूले पार्टीबाट निर्वाचन जितेकाले पार्टीको समन्वय र गाउँपालिकाको नीति नियमभित्र रहेर जनताप्रति कटिबद्ध भएर काम गर्ने बताएका थिए ।
सहभागीले पार्टीमा गलत काम गर्नेलाई छानविन गरेर कारबाही गर्नुपर्ने बताएका थिए । सो अवसरमा जनप्रतिनिधि विभिन्न संघसंस्थामा निर्वाचित प्रतिनिधि र कांग्रेसमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । क्षेत्रीय सदस्य पूर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शोभाकर सापकोटाले गरेका थिए ।
RaptiSandesh RaptiSandesh