दाङ,१६ फागुन । दाङको घोराहीमा प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ सुरु भएको छ । जिल्लामै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको सोमवार घोराहीमा उद्घाटन गर्दै नेता गिरीले खेलले शरीरलाई स्वस्थ, फुर्तिलो र निरोगी बनाउन महत्वपूर्ण हुने भन्दै खेलकुद क्षेत्रको विकासमा सवैले ध्यानदिनुपर्ने बताए ।
नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको सम्झनालाई चिरस्थायी बनाउन यस्ता खेलकुद कार्यक्रमले सहयोगी बन्ने बताए । नेपाली कांग्रेस र प्रजातन्त्र स्थापनाका लागि नेपालको राजनीतिक इतिहासमा स्वर्गीय नेता खड्काको योगदानलाई खेलकुद माध्यमबाट सदैव जीवन्त राख्न कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिता राम्रो कार्य भएको उनको भनाई थियो । ‘स्व.खुमबहादुर खड्का विकासप्रेमी मात्र नभएर खेलप्रेमी पनि हुनुन्थ्यो’,विगत सम्झदै नेता गिरीले भने,‘खेलकुद क्षेत्रको विकाससँगै उहाँको योगदानलाई जीवन्त राख्न यो खेलकदको महत्वपूर्ण भूमिका हुनेछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व सांसद राजु खनाल, नेपाली कांग्रेस दाङका जिल्ला पूर्व सभाति वीरकेशरी गौतम, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि सावित्रा रानालगायतका बक्ताहरुले स्वर्गीग नेता खड्काको योगदानलाई नयाँ पुस्तासम्म लग्नेदेखि खेलकुदका माध्यमबाट सवैलाई जोड्न प्रतियोगिताले सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले कांग्रेसलाई एकताबद्ध बनाई राख्न र युवापंक्तिलाई खेलका माध्यमबाट कांग्रेसमा जोड्न यस्ता कांग्रेस गर्न आवश्यक रहेको बताएका थिए । साथै उनीहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनसँगै जिल्लाको विकासका लागि योगदान गरेका नेतालाई राज्यस्तरबाट पनि सम्झनुपर्ने बताएका थिए ।
कार्यक्रम कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्का उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । कार्यक्रममा खेलकुद प्रतियोगिताका बारेमा खेल संयोजक राजु आचार्य र खेलका नियमका बारेमा सदस्य केदारराज श्रेष्ठले जानकारी गराएका थिए ।

जिल्लामा सर्वाधिक राशीको प्रतियोगिताको बिजेता टिमले नगद २ लाख रुपैया र उपबिजेता हुने टिमले नगद १ लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने भएको छ । यसअघि बिजेतालाई एक लाख ७५ हजार र उपबिजेतालाई ८७ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएपनि उद्घाटन कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त पुरस्कारमा रकम थप गर्दै प्रथम पुरस्कार दुई लाख र दोश्रो पुरस्कार एक लाख बनाउने घोषणा गरेका हुन ।
तुलसीपुर र दंगीशरणको जित
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाको भलिबल टिम बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राप्ती गाउँपालिकाको टिमलाई २५–१९, २२–२५ र २५–१८ को सेटमा हराउँदै तुलसीपुर उपमहानगरपालिकाको टिम बिजयी भएको हो ।
नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टसहितको तुलसीपुर उपमहानगरपालिकाको टिमले प्रतिष्प्रर्धाको खेलमा राप्ती गाउँपालिकाको टिमलाई हराउँदै पहिलो खेलमा जित निकालेको हो । राप्ती गाउँपालिकाको टिममा पनि राष्ट्रिय टिमका खेलाडी हरि अधिकारीसहितको टिमले एक सेट जितेपनि दुई सेटमा हार व्यहोर्दा प्रतियोगिताको पहिलो खेलमा पराजित हुन पुगेको थियो ।
त्यसैगरी दोश्रो खेलमा लमही नगरपालिकालाई हराउँदै दंगीशरण गाउँपालिकाको टिम बिजयी भएको हो । पहिलो सेटमा २५–१२ को जित निकालेर दोश्रो सेटमा २३–२५ले हारेको दंगीशरणले तेश्रो सेटमा २८–२६ को जित निकाल्दै बिजयी भएको हो ।
RaptiSandesh RaptiSandesh