Home / Feature Breaking news / उनिँदै मखमली र सयपत्री

उनिँदै मखमली र सयपत्री

अमरराज आचार्य

दाङ, २० कार्तिक । मखमली ओइलिँदैन, सयपत्रीलाई चिसोमा जतनसाथ राखे एक महिनाभन्दा बढी बिग्रँदैन । त्यसैले दीपावली नजिकिँदै गर्दा आफूले तयार पारेका बगैचाका फूल टिपेर माला गाँस्ने सुरमा छन् फूल खेती गर्ने किसानहरु ।

दीपावलीलाई फूलको पर्व पनि मानिँदै आएकाले जिल्लामै व्यावसायिकरुपमा फूल खेती थालेका किसानहरुको दैनिकी अहिले फूलवारीमा छ । फूल खेती गरेका कृषकहरु अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ झिगौरामा व्यावसायिकरुपमा फूल खेती गरेका लोकेन्द्र रोकामगर अहिले मखमली फूल टिपेर माला बनाउन थालेको छन् । उनीजस्तै जिल्लाका अन्य कृषकहरु पनि फूल टिपेर माला गाँस्न थालिसकेका छन् ।

तिहारमा बिक्री गर्नका लागि माला बनाउन थालेको उनले बताए । तिहारमा धेरै माला बिक्री हुने भएकाले अहिले फूल खेती गर्नेहरुले माला बनाउन थालिसकेका छन् । अहिले मखमलीको माला बनाउन शुरु गरिएको रोकाले बताए । केही दिनमा सयपत्रीको माला बनाइने उनको भनाइ रहेको छ । जिल्ला बाहिरबाट समेत माग आएकाले माला बनाउन शुरु गरिएको उनी बताउँछन् ।

अहिले नेपालगञ्ज, टीकापुर, बुटवललगायतका स्थानबाट माग आएको रोकामगरले बताए । रोकाले घोराही उपमहानगरपालिका वडा नं. १४ झिगौरामा जलजला पुष्प खेती फर्म दर्ता गरेर व्यावसायिकरुपमा फूल खेती शुरु गरेका छन् । अहिले उनले १८ कठ्ठा जग्गा भाडामा लिएर खेती गरेको बताए । अहिले १८ कठ्ठाको वार्षिक ७२ हजार भाडा तिर्ने गरेको उनले बताए ।

उनले विगत ८ वर्षदेखि फूल खेती गर्दै आएका छन् । रोजगारीको शिलशिलामा ७ वर्ष कतारमा बिताएका रोकाले जिल्लामा दशै–तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूल खेती गर्न थालेका थिए ।

‘दाङमा व्यावसायिकरुपमा फूल खेती कतै थिएन, काठमाडौंतिर फूल खेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिएँ अनि यहाँ मैले गरेको हुँ’, रोकाले भने । रोकाले अहिले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीऊ ल्याएर व्यावसायिक खेती गर्न शुरु गरेका थिए । घोराही बजार नजिकै फूल खेती गरेपछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोका बताउँछन् । ‘दैनिकजसो फूलको अर्डर आउने गरेको छ, उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौं भन्ने समस्या छैन’, रोकाले भने ।

आफूले उत्पादन गरेको फूल धेरै जिल्लामा नै खपत हुने गरेको उनको भनाइ रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेको उनले बताए । ‘काठमाडौंबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन’, रोकाले भने । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उनको भनाइ छ । अहिले एउटा मालालाई १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री गरिने उनले बताए । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन शुरु गरेको बताए ।

‘जिल्लामा १२ महिना नै फूलको माग भएकाले बाहै्र महिना नै फूल उत्पादन गर्न थालेको हँु’ रोकाले भने । त्यसैगरी उनले गुलाफको फूल पनि उत्पादन गर्ने सोच बनाएको बताए । अहिले सजावटका लागि जिल्ला बाहिरबाट गुलाफको फूल आउने गरेको उनले बताए । आफूसँगै परिवार तथा अन्य ४ जनालाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ रहेको छ । रोकाले व्लक टायलको काम गरे पनि बिहान–बेलुका बचेको समयमा फूल खेती गरेको बताए ।

‘व्यावसायिकरुपमा समय लगाएर काम गर्ने हो भने राम्रो आम्दानी हुन्छ’, रोकाले भने । फूलको माग दशै–तिहारमा बढी हुने गरेको उनको भनाइ छ । त्यसैगरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ । तर यस वर्ष कोरोनाका कारण कुनै पनि औपचारिक कार्यक्रम नभएकाले फूल पनि बिक्री हुन नसकेको उनी बताउँछन् । ‘कारोना संक्रमणको असर फूल खेतीमा पनि प¥यो’, रोकाले भने । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ लाग्नसमेत आग्रह गरेका छन् ।

घोराही उपमहानगरपालिका–१७ मा पनि सामूहिक फूल खेती गरिएको छ । महिलाहरु मिलेर सामूहिक फूल खेती गरेको सुशीला पौडेलले जानकारी दिइन् । उनीहरुले करिब ३ वर्षदेखि फूल खेती गरिरहेका छन् । शुरुमा घोराही–१३ डुमरगाउँमा ६ कठ्ठामा खेती गरिएको पौडेलले बताइन् । यसलाई व्यावसायिकरुपमा अगाडि बढाउने सोचमा रहेको उनको भनाइ छ । अहिले कोरानाको कारण बाहिरी जिल्लामा फूल पठाउन नसकिएको बताइन् । गाउँघरमा आ–आफ्नो फूलवारीमै फूल खेती हुने गरेकाले पनि केही बजारी क्षेत्रमा मात्र यसको बिक्री वितरण हुने गरेको फूल किसानहरुको अनुभव छ ।

पहिले–पहिले जिल्लामा हुने केही व्यापारिक मेला–महोत्सव तथा ठूला धार्मिक अनुष्ठानमा जिल्ला उत्पादन भएको फूल पर्याप्त नहुँदा नेपालगञ्ज, बुटवल, धादिङलगायतका स्थानबाट फूलमाला खरिद गरेर ल्याउनुपथ्र्यो, तर अहिले जिल्लाका विभिन्न स्थानमा फूलको व्यावसायिक खेतीको अभ्यास शुरु भए पनि यही फुलेको फूलले नै यहाँको आन्तरिक मागलाई सम्बोधन गर्न सकेको पनि फूल किसानहरुले बताएका छन् ।

यहाँ फुलेको फूललाई अन्यत्र निकासी गर्न सके आन्तरिक अर्थतन्त्रमा समेत टेवा पुग्ने किसानहरुको भनाइ छ । यसका लागि राज्यले पनि व्यावसायिक फूल खेती गर्ने किसानहरुलाई प्रोत्साहन र अनुदानको व्यवस्था गर्नुपर्ने पनि किसानहरुले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*