मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।
सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठकलाई महत्त्वका साथ हेरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिइन् ।
सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन् ।
कांग्रेसले माओवादीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसद्मा टेबल गर्न अटेर गरेको आरोप लगाउँदै आएको छ ।
यता, एमसीसी जसरी भए पनि अनुमोदन गराउने दृढतामा रहेका प्रधानमन्त्री देउवा एमसीसी टेबल गर्न र अनुमोदन गराउनका लागि गठबन्धनको विकल्प खोज्ने मनसायमा समेत पुगेको कांग्रेस स्रोतको दाबी छ ।
मन्त्रिपरिषद्को बैठकपश्चात् आजै साँझ ५ बजे सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बस्नेछ ।
RaptiSandesh RaptiSandesh