काठमाडौं । सरकारले आजैभोलिमा दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । एक मन्त्रीका अनुसार त्यसको तयारीस्वरुप संसद् अधिवेशन अन्त्य गरिएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नयाँ पार्टी बनाएर सरकारमा सहभागी गराउन सहज हुने भन्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको हो ।
एक्कासी संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेपछि नेकपा एमालेमा तरंग सिर्जना भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई सोमबार राति नै बालकोटमा बोलाएर छलफल गरेका छन् भने आजै स्थायी कमिटी बैठक र संसदीय दलको बैठक बोलाएका छन् ।
राति नै उनले एक अपील जारी गर्दै भनेका छन्, “केही सयमयता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिंदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।”
उता नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहका नेताहरु भने सोमबार पनि छुट्टै छलफलमा थिए ।
काठमाडौंको एक होटलमा भएकमो छलफलमा केन्द्रीय सदस्य र केही सांसदहरु रहेको बताइएको छ । उनीहरुले सम्मानजनक एकताको अन्तिमसम्म प्रयास गर्ने नभए नेता नेपाललाई नै सहयोग गर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
स्रोतले दिएको जानकारीअनुसार नेपाल समूहमा अहिले ८८ बढी केन्द्रीय सदस्य रहेका छन् । ३० जना भन्दा बढी सांसद रहेको दाबी गर्दै त्यसमा सहज हुनेगरी अध्यादेशको तयारी गरिएको छ ।
एमाले सांसदहरुले अब ओलीसँग सँगै रहन नसकिने निष्कर्ष निकालिएको बताएका छन् । उनीहरुबीच आज पनि छलफलको तयारी रहेको छ ।
त्यसैगरी फुटको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) का लागि पनि यो अध्यादेश ल्याउन लागिएको बताइएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो समूहका नेताहरु अहिले साधारण सदस्यमामात्रै कायम भएका छन् ।
RaptiSandesh RaptiSandesh