‘बिहड मे बागी होते है, डकैत मिल्ते है पार्लियामेन्ट मे ।’ बेला बेला यो संवाद स्मृतिमा गुञ्जिइरहन्छ । पत्रकारलाई अन्तर्वार्ता दिन सहर कुनाको एक घरको छतमा प्रकट भएको डाकु सरदार पानसिंह तोमरले बोल्ने यो संवादमा राजनीतिको बिडम्वनामात्र होइन, इरफान खानको अभिनय पनि झल्किन्छ ।
गुलाबी सहर जयपुरमा जन्मिएका साहबजादे इरफान अली खान राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्लीमा छात्रवृत्ति पाएर पढ्न आउँदा इरफान खानका रुपमा छोटिए । बलिउड र हलिउडमा समेत नाम कमाएपछि उनले यो नामलाई अझै छोट्याएर इरफानमात्रै भए । समयले बुधबार बिहान उनलाई यो धरतीबाट मेटिदिएको छ । तर, इरफानको नाम, अभिनय र प्रसिद्धि कहिल्यै मेटिने छैन । एक वर्षभन्दा बढी समयदेखि क्यान्सरसँग लडिरहेका इरफान ५३ बर्षकाे उमेरमा दिवंगत भए । ‘आनन्द’ फिल्मका राजेश खन्नाजस्तो जीवन-संवादले भरिएका केही टेप, केही फिल्म र केही टिभी सिरियल दुनियाँलाई दिएर।
इरफानको कथा नै सुरु हुन्छ, काटिएर ।
मकबुल, २००३, निर्देशक : विशाल भारद्वाज
कुरा हो मीरा नायरको फिल्म ‘सलाम बम्बै’को । साल थियो, सन् १९८८ । नाट्यस्कुल सकेर मुम्बई आएपछि इरफान टेलिभिजनको दुनियाँमा छिरेका थिए । कहिले चाणक्य त कहिले चन्द्रकान्तामा उनी विभिन्न भूमिकामा देखिन्थे । त्यस्तैमा मीरा नायरले उनलाई ‘सलाम बम्बे’मा ब्रेक थिइन् । यसमा उनको भूमिका थियो- फूटपाथमा बसेर अरुका लागि चिठी लेखिदिने मान्छेको । रघुवीर यादव र नाना पाटेकरजस्ता अभिनेताले अभिनय गरेको यो फिल्मलाई त्यसवर्ष भारतले ओस्करमा पठायो । र, यो विदेशी भाषाको फिल्म विधामा भारतबाट ओस्कर मनोनित हुने दोस्रो फिल्म बन्यो । त्यसअघि १९५७ मा महबुब खानको फिल्म ‘मदर इन्डिया’ ओस्कर मनोनित भएको थियो ।
तर, इरफानको ट्रेजेडी के भयो भने फिल्मको फाइनल कटमा इरफानको भूमिकै थिएन । उनी यस्ता कलाकार बने जसको पहिलो फिल्म ओस्करमा पुग्यो तर आफूबिना, आफू चढेको डिब्बालाई त्यहीं छोडर रेल गएजस्तो !
पानसिंह तोमर, २०१२, निर्देशक : तिग्मांसु धुलिया
यसको बदला इरफानले आफैंसँग धेरै वर्षपछि लिए । जब उनले अभनिय गरेको फिल्म ‘स्लमडग मिलेनियर’ले ८ वटा विधामा ओस्कर जित्यो । एआर रहमान, अनिल कपुर, देव पटेल र फ्रिडा पिन्टोसँगै इरफान हलिउडको कोडाक थिएटरमा उपस्थित थिए । आफूलाई छोडेर आएको रेललाई उनले धेरै वर्षपछि यहाँ भेटे । र, दुनियाँलाई बताए- भाइ हो, दौडमा को छिटो दौडियो भन्नेको मात्रै अर्थ हुँदैन, को कति ‘जुनुन’का साथ दौडियो र आफूसँग के-के लिएर आयो भन्ने कुराको महत्व हुन्छ !
ज्यानमारा क्यान्सरसँग जुधिरहेका भए पनि इरफानले आफ्नी आमालाई पुत्रवियोगको बज्र पर्न दिएनन् । कोरोनाको काँडाले पुरै संसारलाई घोचिरहेको बेला शनिबार मात्रै इरफानकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा देहान्त भएको थियो । पाँच दिनमै उनले आफ्नी आमालाई पछ्याए ।
इरफान खानको सफलता खाली आफ्नो करियरको सफलतामा मात्रै छैन । भारतीय फिल्म उद्योगमा नसिरुद्दिन शाह र ओम पुरीपछि इरफान र मनोज वाजपेयी यस्ता अभिनेता हुन् जसले अभनियको आफ्नो शैलीलाई स्थापित गरे । आफ्नो शैलीमात्र बनाएनन् औषत रुप र जिउडाल भएका गाउँका युवाहरुलाई पनि हिरो बन्न प्रेरित गरे । आज बलिउडमा जमेका नवाजुद्दीन सिद्दीकी हुन् वा पंकज त्रिपाठी यिनै अभिनेताले यो पुस्तालाई प्रेरणा दियो ।
करिब करिब सिंगल, २०१७, निर्देशक : तनुजा चन्द्रा
१९८८ को ‘सलाम बम्बै’बाट सुरु भएको इरफानको फिल्म यात्रामा बीचमा धेरै वर्ष धरमरायो । उनी टिभी र नाटकको दुनियाँमा नै लामो समय रमाए । ‘एक डक्टर कि मौत’ जस्ता फिल्ममा सहायक भूमिकामा देखिएका इरफानले ठूलो ब्रेक पाए सन् २००१ मा । बेलायत बस्ने भारतीय फिल्ममेकर आसिफ कपाडियाको फिल्म ‘द वारियर’मा इरफानले मूख्य भूमिका पाए । एक योद्धाको यो मानवीय कथाले इरफानलाई संसारसामू चिनाइदियो । त्यसको दुई वर्षपछि सन् २००३ मा आएको विशाल भारद्वाजको ‘मकबुल’ ले उनलाई भारतमा चिनाइदियो । सेक्सपियरको प्रसिद्ध नाटक ‘म्याकबेथ’को भारतीय एडप्टेसनमा इरफान पंकज कपुर, तब्बु र पियुस मिश्राजस्ता सिद्धहस्त कलाकार सँगै थिए । इरफानले आफ्नो अभिनयको छाप यही फिल्मबाट छोडे । त्यसपछि इरफानका फिल्म लगातार आउन थाले । त्यसमा पनि तीनवटा फिल्म विशेष थिए, ‘हासिल’,’लाइफ इन अ मेट्रो’ र ‘दि नेमसेक’ ।
तिग्मांसु धुलियाको ‘हासिल’मा इरफान भिलेन थिए । बलिउडी मसला थ्रिलरको दुनियाँमा इरफानलाई यसैले जमाइदियो । उनले भिलेनको फिल्मफेयर अवार्डै पाए । अनुराग वसुको ‘लाइफ इन अ मेट्रो’मा उनी कोनकोना सेन शर्मासँग सहायक भूमिकामा थिए । यसका लागि पनि उनले सह-अभिनेताको फिल्मफेयर पाए । र, झुम्पा लहिरीको उपन्यासमाथि बनेको ‘दि नेमसेक’ले उनलाई अन्तर्राष्ट्रिय फिल्म जगतमा पुर्यायो, जहाँबाट उनको हलिउड यात्रा सुरु भएको मान्न सकिन्छ । यही यात्राले उनलाई ओस्करसम्म पुर्यायो ।
दि लञ्चबक्स, २०१३, निर्देशक : रितेश बत्रा
इरफान बलिउडका थुप्रै फिल्ममा देखिन थाले । कहिले शाहरुख खानसँग ‘बिल्लु’का रुपमा त कहिले ‘मदारी’का रुपमा । कहिले भिलेनका रुपमा त कहिले ‘छोटा रिचार्ज’ र ‘एलइडी’को प्रचारमा । तर, सबैमा आफ्नो शैली । विशाल भारद्वाजका ‘सात खुन माफ’ देखि ‘हैदर’सम्ममा उनी फरक फरक भूमिकामा देखिए ।
इरफानले केही फिल्मबाट धेरैलाई प्रभावित पारे । तिनमा ‘मकबुल’, ‘द लञ्चबक्स’, ‘हिन्दी मिडियम’, ‘पिकु’, तलबार, ‘करिब करिब सिंगल’ मुख्य छन् । केही समयको विश्रामपछि ऐश्वर्या रायले बलिउडमा कमब्याक गरेको २०१५ को फिल्म ‘जज्बा’मा इरफान नै थिए । उनले हलिउडका ‘अ माइटी हार्ट’ देखि ‘लाइफ अफ पाइ’ र ‘अमेजिङ स्पाइडरम्यान’ जस्ता फिल्ममा पनि अभिनय गरे ।
‘द लञ्चबक्स’मा इरफान एक अधेड उमेरको व्यक्तिको भूमिकमा थिए, जो आफ्नो कर्मचारी जीवनबाट निवृत्त हुँदैछ तर भित्रैभित्रै उ आफ्नो जीवनको खोजीमा छ । खुसीको खोजीमा रहेको उसले त्यो खुशी कहिल्यै नदेखेकी एक गृहणीसँग आदान प्रदान भएका चिठीमा प्राप्त गर्न थाल्छ । तपतप पानी चुहिरहेको बरन्डामा बसेर एक्लै सिग्रेटको धुँवा उडाउने मानिसको चित्र अहिले पनि धेरै मानिसको स्मृतिमा आउँछ । लन्चबक्ससँगै चिठी खोल्दै गरेका इरफानको दृश्यले धेरै दर्शकलाई तानेको थियो ।
नेसनल स्कुल अफ ड्रामामा एक नाटकमा अभिनय गर्दै, १९८५/८६
छोरीलाई राम्रो स्कुल पढाउन मरिहत्ते गर्ने ‘हिन्दी मिडियम’का दम्पतL हुन् वा कब्जियतको बिरामी बाबुको स्याहारमा खटेकी युवतीलाई लामो रोड यात्रामा लिएर निस्केको ‘पिकु’को ट्याक्सीवाला ! इरफान हरेक चरित्रमा बेग्लै देखिन्थे । हत्याकाण्डको छानबिन गर्न निस्किएको ‘तलबार’को पुलिस होस् वा ‘करिब करिब सिंगल’को दिलफेक योगी, इरफानको सहज अभिनयले दर्शकको दिल जितेको थियो ।
उनको अभिनय जति सहज थियो विचार पनि उनी त्यति नै प्रष्ट मानिन्थे । निकै कम सार्वजनिक समारोहमा देखिने उनलाई एक समय भारतीय मिडियाले ‘दि अदर खान’ भनेर सम्बोधन धन गर्न थालेका थिए । आमिर, शाहरुख र सलमान तीन खानको बक्स अफिसमा वर्चस्व बनिरहेका बेला इरफान फरक शैलीका खानका रुपमा प्रकट भएका थिए । उनी फिल्मले दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने ठान्थे तर धेरैले भन्ने गरेको मनोरञ्जनसँग उनको परिभाषा अलि फरक थियो । ‘म दर्शकलाई मनोरञ्जन नै दिन आएको हुँ तर त्यसको केही अर्थ पनि हुनुपर्छ’ उनी भन्थे ।
इरफानकी श्रीमती सुतपा सिकदर फिल्म लेखक हुन् । उनका दुई छोरा छन् ।
-एजेन्सीहरुको सहयोगमा