तनाव र रोमाञ्चकताले भरिएको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सातौँ दक्षिण एसियाली च्याम्पियनसिप (साफ)को फाइनल स्थान सुरक्षित गरेको छ । अब नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् । यसअघि पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै बंगलादेशले फाइनल स्थान पक्का गरेको थियो ।
आइतबार दशरथ रंगशालामा नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेपछि फाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गरेका थिए । भारतबाट मनीषा र पुरुषोत्तम सिर्भोइकरले गोल गरे । कप्तान असलताको प्रहारलाई नेपालकी गोलरक्षक अञ्जना रानामगरले रोकिन् । अञ्जनाले चानु सोरोखैबामको प्रहारलाई असफल बनाइन् । नेपालकी अमिषा कार्कीले सहजै गोल गर्दै नेपाललाई लगातार दोस्रोपटक फाइनलमा पुर्याइन् । नेपाल लगातार पाँच संस्करणमा भारतसँग चार फाइनल र एक सेमिफाइनलमा पराजित भएको थियो । दुई वर्षअघि दशरथ रंगशालामै भएको छैटौँ संस्करणको सेमिफाइनलमा नेपालले रश्मिकुमारी घिसिङको गोलमा भारतलाई पहिलोपटक हराएको थियो ।
नेपालको गोल अमान्य भएपछि विवाद
आइतबार दशरथ रंगशालामा खेलको ७२औँ मिनेटमा भारतका लागि संगीता बास्फोरेले १–० को अग्रता दिलाएकी थिइन् । करिब २५ यार्डमा अनमार्क रहेकी बास्फोरेले दोस्रो बारमा उत्कृष्ट गोल गरेकी हुन् । भारतीय खेलाडीले आफ्नो साइडमा सेलिब्रेसन गरिरहेका थिए । तर, रेफ्री भुटानी ओम चोकीले नेपाललाई बल चलाउन संकेत गरेकी थिइन् । सावित्रा भण्डारीले बढाएको बललाई प्रीति राईले पोस्टभन्दा ३५ यार्डबाट गोल गर्दैै नेपाललाई १–१ को बराबरीमा पुर्याइन् ।
नेपालले बराबरी गोल फर्काएपछि खेलाडीले खुसीयाली मनाए । तर, भारतीय खेलाडीले प्रीतिको गोल अस्वीकार गरेका थिए । रेफ्री ओम चोकीले पनि आफ्नो निर्णय फिर्ता लिइन् । जुन विश्व फुटबलका लागि नौलो थियो । त्यसपछि खेलमा तनाव सुरु भयो । ७१औँ मिनेटदेखि १३९ मिनेटसम्म खेल अवरुद्ध भयो । एक घण्टा पाँच मिनेटपछि खेल सुचारु भयो । खेल सुरु भएलगत्तै सावित्राले प्रीतिको थ्रो पासमा भारतीय गोलरक्षक र रक्षकलाई बिट गर्दै गोल गरेकी हुन् । ६:३० मा सुरु भएको खेल राति ९:४५ बजे सम्म चलेको थियो ।
रेफ्रीमाथि नै बोतल प्रहार
खेलको ५२औँ मिनेटमा रेखा पौडेलले रातो कार्ड पाएपछि विवाद सुरु भएको थियो । रेखाले रातो कार्ड पाउँदा दर्शकले बोतल प्रहार गरेका थिए । रेफ्रीलाई नै बोतल लागेपछि खेल १५ मिनेट रोकिएको थियो । आयोजनाको जिम्मेवार पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)कोे सुरक्षामा चरम लापरबाही प्रस्ट देखियो । मैदानमा न्यून सुरक्षाकर्मी राख्दा दर्शकले भुटानी रेफ्रीलाई बोतल प्रहार गरेका थिए । भारतीय प्लेयर बक्समा पनि बोतल फालिएको थियो । रेखाको गल्ती नभएको भन्दै नेपाली समर्थकले विरोध जनाएपछि रेफ्री आफ्नो निर्णयमा अडिग रहिन् । रेखाले बल ट्याकल मात्रै गरेको देखिएपछि आक्रोशित दर्शकले मैदानमा बोतल फाल्न थालेका थिए ।
नेपालले अनुशासित खेल खेल्यो
राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
भारतविरुद्धको जितबाट सबै खुसी छौँ । समर्थकलाई विशेष धन्यवाद । यति धेरै समर्थक आउने विश्वास थिएन । रेखाका कारण १० खेलाडीमा सीमित भयौँ । तालमेल मिल्न नपाउँदै गोल भयो । हामीले गोल फर्काउँदा रेफ्रीले मान्यता दिएन । हामीले अपिल पनि गर्यौँ । भारतले प्रशिक्षक भित्र छिरेको र अर्को कारण गोलरक्षक सेलेब्रेसन गर्न आएको भन्दै निर्णय मान्न तयार भएन । त्यसैले खेल बढी रोकियो । खेल रोकेको अवस्थामा फाइन गर्ने वा निलम्बन गर्ने भनेपछि हामीले खेल्ने निर्णय गर्यौँ । फेरि हाम्रा खेलाडीले मानेनन्, तर फ्यान र संघका लागि भए पनि खेल्नुपर्छ भनेर मैदान उत्रियौँ । सावित्राले गोल गरेपछि खेल लयमा आयो । हामीले झनै दबाब बनायौँ । त्यसपछि नेपाली टिमले अहिलेसम्मकै अनुशासित खेल खेल्यो ।
भारत दबाबमा आउँदा सफल भयौँ
सावित्रा भण्डारी, नेपाल
पहिलो १५ मिनेट दर्शकका कारण खेल्न सकिन्न जस्तो देखियो । चेन्जिङ रुममा गएपछि सबै खेल राम्रो भयो । अवसर पाउँदा पनि दर्शकका कारण अलि आत्तिएर गोल भएन । मैले पहिलो हाफमा राम्रो खेल्न सकिनँ । पहिलोपटक धेरै समर्थकमाझ खेलेका थियौँ । गोल खाएपछि नेपाललाई दबाब भयो । गोल मान्यता नदिएपछि सबैको दबाब भयो । गल्ती नगरी खेल्न सफल भयौँ । दोस्रो हाफमा राम्रो गोल भयो । भारत दबाबमा आउँदा हामी सफल भयौँ ।
RaptiSandesh RaptiSandesh