जाजरकोट, १० जेठ
कर्णाली प्रदेशको भुकम्प प्रभावित क्षेत्रका महिला तथा किशोरीहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रहरुमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले सेनेटरी प्याड वितरण गरेको हो ।
जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भुकम्प प्रभावित क्षेत्रका किशोरी र महिलाहरुलाई १ हजार बढि सेनेटरी प्याड वितरण गरिएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा भुकम्क प्रभावित क्षेत्रमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत द ग्लोबल अप्लीक प्रोजेक्टसँगको समन्वयमा भुकम्प प्रभावित क्षेत्रमा पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भुकम्प प्रभावित क्षेत्रमा वितरण गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । स्थानीय तह एवं स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा जनप्रतिनिधी एवं स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सेनेटरी प्याड वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ र २, रुकुम पश्चिमको आँठबिसकोट नगरपालिका वडा नम्बर ११, १३ र १४ नम्बर वडाका विभिन्न समुदाय एवं विद्यालयमा एक हजार बढि महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

त्यस अवसरमा महिलाहरुले प्रजनन् स्वास्थ्य एवं महिनावारी भएको समयमा ध्यान दिनुपर्ने विषयमा सचेचना कार्यक्रम पनि गरिएको थियो ।
२०८० कार्तिक १७ गते गएको ५ दशमलव ७ म्याग्नीच्यूटको भुकम्प पश्चात नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिक आवाज ललितपुरसँगको सहकार्यमा भुकम्पपीडितहरुलाई खाना खुवाउनकालागी भान्सा सञ्चालन गरेको थियो ।
त्यसका साथै जाडो समयमा सुप किचन पनि सञ्चालन गरेको र हाल भुकम्प प्रभावित क्षेत्रमा सामुदायिक सुरक्षा जालो कार्यक्रम सञ्चालन गरिएको भुकम्प गएपश्चात विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले जानकारी दिनुभयो ।

‘नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना भएदेखी नै महिला, किशोरी एवं बालबालिका लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ’ उहाँले भन्नुभयो– ‘जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएपछि सामुदायिक सुरक्षा जालो कार्यक्रम सञ्चालन गरेका छौँ, ती भुकम्प प्रभावित क्षेत्रका किशोरीहरुलाई लक्षित गरि सेनेटरी प्याड वितरण गरेका हौँ ।’
RaptiSandesh RaptiSandesh