Home / Feature Breaking news / लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा

लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। मन्त्रिपरिषद्मा जसपाबाट मन्त्री रहेका भण्डारीलाल अहिरले आइतबार बिहान आफूले राजीनामा बुझाएको नेपाल लाइभलाई बताए। ‘मैले आज मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएँ’, उनले भने।

मुख्यमन्त्री जोखबहादुर महरा काठमाडौं रहेकोले आफूसँग फोनमा कुरा भएको अहिरले बताए। ‘उहाँले आफू आएर पार्टी (जसपा)का नेताहरूसँग कुरा गर्ने भन्नुभएको छ’, उनले भने, ‘मैलेचाहिँ आज राजीनामा दिएँ।’

पार्टीको निर्देशनपछि आफूले राजीनामा दिएको अहिरको भनाइ छ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्मा जसपाका अहिर एक जना मात्रै मन्त्री थिए। उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले वैशाख ६ मा मात्रै सो मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। त्यसअघि उनी विना विभागीय मन्त्री थिए।

वैशाख ६ मा मुख्यमन्त्री महराले पुराना मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिँदै सात मन्त्री पनि थपेका थिए। सो प्रदेशमा अहिले ११ सदस्यीय मन्त्रिपरिषद् छ। तर कैयौं मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।

मन्त्रिपरिषद्मा जसपाबाट एक जना मात्रै मन्त्री थिए। उसले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको थियो। उसले गत चैत २२ गते भएको सहमति अनुसार सो दाबी गरेको थियो।

महरा मुख्यमन्त्री हुनुअघि माओवादी केन्द्र, एमाले, जसपा र एकीकृत समाजवादी तथा स्वतन्त्र सांसद खड्ग बस्नेतबीच महरालाई मुख्यमन्त्री बनाउन भन्दै पाँच बुँदे सहमति भएको थियो। तर त्यसै दिन दलहरूले अर्को सात बुँदे सहमति पनि गरेका थिए। सात बुँदेलाई भने गोप्य राखिएको थियो।

सात बुँदे सहमतिको चौथो बुँदामा जसपालाई दुई वटा मन्त्रालय दिने सहमति उल्लेख थियो। भनिएको थियो, ‘शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जनता समाजवादी पार्टीको नेतृत्वमा गठन गर्ने।’

‘सहमति कार्यान्वयन भएन। मैले राजीनामा दिनुको मुख्य कारण त्यही हो’, अहिरले भने, ‘दुई वटा मन्त्रालय दिन भनेर हामीले कुरा गरेका थियौँ। लिखित सम्झौता अनुसार मुख्यमन्त्रीले दुई वटा मन्त्रालय दिनुभएन, एउटा मात्रै दिनुभयो। त्यसले हाम्रो पार्टी असन्तुष्ट भएको थियो।’

यसबीचमा मुख्यमन्त्रीले जसपालाई एउटै मन्त्रालयमा चित्त बुझाउन प्रयत्न गरिरहेका थिए। अर्कोतिर जसपाले सहमति अनुसारको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको थियो। आइतबार भने ऊ सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन भने जसपाले फिर्ता लिइसकेको छैन।

महरा गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*