त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले गरेको अपरेसनको क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या १६ पुगेको हो।
आइतबार भन्सारका ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेसँगै हिरासतमा रहेनको संख्या १६ पुगेको विभाग सूचना अधिकारी नवराज अधिकारीले बताए।
आइतबार पक्राउ पर्नेहरुमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स-रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी छन्। त्यसैगरी भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन्।
यसअघि १० जनालाई राजश्वको टोलीले पक्राउ गरिसकेको छ। सुन बरामद भएकै रात ६ जना पक्राउ परेका थिए। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।
उनीसँगै एक क्विन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय दिलिप भुजेल पनि पक्राउ परेर अहिले विभागको हिरासतमा छन्। भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको हो।
दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जनालाई सुन बरामद गरिएकै रात प्रहरीले पक्राउ गरेको थियो।
पछि यो प्रकरणमा चिनियाँ नागरिक र कार्गो कम्पनीको सञ्चालकसहित ४ जना पक्राउ परे। चीन भाग्न लागेको अवस्थामा विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान पक्राउ परे। उनी सात महिनादेखि बिजनेस भिसामा काठमाडौंमा बस्दै आएको खुलेको छ।
त्यसैगरी कोटेश्वरबाट कार्गो कम्पनीका सञ्चालकहरु राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पनि पक्राउ परे।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो। बरामद भएको उक्त सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ।
RaptiSandesh RaptiSandesh