Home / Feature Breaking news / घोराही १५ मा नाला सफाई अभियान, फुटपाथ हटाउन ७ दिने सुचना

घोराही १५ मा नाला सफाई अभियान, फुटपाथ हटाउन ७ दिने सुचना

घोराही, २५ असार

घोराही बजार क्षेत्रमा बर्षाको समयमा नाला बन्द भएर हुने डुबानको समस्या समाधानकालागी वडा नम्ब १५ एक्सनमा उत्रिएको छ । वडा क्षेत्रका नालाहरुको सरसफाईमा वडा कार्यालय जुटेको छ । वडाका विभिन्न स्थानहरुमा नाला बन्द हुदाँ पानी सडकबाट बग्ने र पसलहरुमा पस्ने समस्या रहेको छ ।

बर्षामा हुने समस्या समाधानकालागी वडा कार्यालयले वडामा रहेका मुख्य सडकका नालाहरु सरसफाई गरिरहेको छ । घोराही १५ का वडा सदस्य लेखनाथ बुढाथोकीको नेतृत्वमा शनिवारदेखी नाला सरसफाई सुरु गरिएको हो । ने.वि संघ, आमा समूह, स्वास्थ्य स्वयमसेविका समूह, आईटिएफ तेक्वान्दो दाङ, द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराही, युथ अफ दाङ लगायत विभिन्न संघसंस्थाहरुको क्रियाशीलतामा नाला सरसफाईको सुरुवात गरिएको थियो ।

घोराहीको बैंक रोडबाट सुरु भएको नाला सरसफाई कार्यक्रम अन्तरगत शनिवार शनिवार वडाको रतनपुर क्षेत्रबाट नाला सरसफाईको सुरुवात गरिएको हो । नाला सरसफाईलाई निन्तर रुपमा अगाडी बढाईएको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो । वडाको रतनपुर क्षेत्र, मेन रोड, बैंक रोड, सहिद गेटदेखी उत्तरतर्फको रोड, विपीदेखी उत्तरतर्फ, मधुवन टोल, काठेकोहल टोल लगायतका डुबान क्षेत्रको नाला सफाई गरिएको उहाँले जानकारी दिनुभयो । नाला सरसफाईलाई निरन्तर रुपमा अगाडी बढाईने बुढाथोकीको भनाई छ ।

नालामा फोहोर जम्मा हुने, पानी निकासमा समस्या हुने, सो पानी सडकबाट बग्ने र पसलहरुमा पस्ने समस्या भएकाले सरसफाई सुरु भएको सदस्य लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो । सरसफाईका क्रममा मापदण्ड अनुसार नाला नबन्दा ढल निकासमा समस्या भएको पाईएको उहाँले बताउनुभयो ।

घोराहीको बैंक रोड, सहिद गेट रोड लगायत धेरै स्थानमा नाला साँघुरो हुँदा ढल निकासमा समस्या देखिएको छ । ‘मापदण्ड अनुसार नालाहरु नबनेका कारण ढल निकास सहज रुपमा नहुँदा बर्षाको समयमा पानी सडकमा आउने र आवतजावतमा समस्या हुने भएकाले नाला सफाई अभियान सुरु गरेका हौँ’ वडा सदस्य बुढाथोकीले भन्नुभयो– ‘नालालाई डस्टबीनको रुपमा प्रयोग गर्ने, प्लास्टीक, सीसाजन्य पदार्थ नालामा फाल्ने गरेको पाईयो ।’ सफाईको क्रममा ढुंगा, गिट्टी, बालुवा, माटो, ईट्टा लगायत वस्तुहरु पनि नालामा धेरै मात्रामा रहेको भेटिएको उहाँले बताउनुभयो । सरसफाई अभियानमा सरसफाई सामाग्रीको कमी भएपछि व्यवसायीहरु रोशन जोशी, धनेश्वर भण्डारी र रजिव उल्लाह खाँले सामाग्री सहयोग गर्नुभएको छ ।

वडा कार्यालयले बर्षाको समयमा सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था लगायत सम्पूर्ण टोल विकास संस्थाहरुलाई आफ्नो कार्यालय र टोलको सरसफाईमा बढि ध्यान दिन अनुरोध गरेको छ । वडा अध्यक्ष रमेशकुमार पाण्डेयले सोमवार सुचना जारी गर्दै सम्पूर्ण बर्षाको समयमा बिषालु किरा र सरुवा रोगको जोखीमबाट बच्नकालागी सरसफाईमा ध्यान दिन अनुरोध गर्दै सचेत रहन सम्पूर्ण वडाबासीहरुमा अनुरोध गर्नुभएको छ । सरसफाई साझा मुद्धा भएकाले सबैले यस अभियानमा साथ दिनुहुन वडा कार्यालयले अनुरोध गरेको छ ।


वडा कार्यालयले सोमवार नै अर्को सुचना जारी गर्दै सडकपेटी, फुटपाथ र सडकमा निर्माण सामाग्री राखेर यात्रुहरुलाई आवागमनमा समस्या भएकाले सो सामाग्री ७ भित्रमा व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*