Home / Feature Breaking news / मनसुन किन अगाडि बढेन, पश्चिमी भूभागसम्म कहिले पुग्छ?
फाईल तस्वीर

मनसुन किन अगाडि बढेन, पश्चिमी भूभागसम्म कहिले पुग्छ?

जेठ ३१ गते नेपाल भित्रिएको मनसुन पाँच दिन बितिसक्दा पनि देशभरी फैलिन सकेको छैन।

अहिले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा  मनसुन सक्रिय छ। पश्चिम भूभागमा मनसुन अझै पुग्न सकेको छैन।

नेपाल प्रवेश गरेपछि मनसुन न्यूनतम पाँचदेखि सात दिनभित्र देशभरी फैलिसक्छ। पूर्वी भूभागहरूमा लगातार पानी परिरहँदा पश्चिमी भूभागका तराई क्षेत्रहरूमा गर्मी यथावत् छ।

यसपालि पश्चिमी भूभागहरूमा अरेबियन सागरबाट विकसित भएको ‘बिपरजोए’ चक्रवात, स्थानीय र पश्चिमी वायु सक्रिय रहेका कारण मनसुन पुग्न नसकेको मौसमविद् रोजन लामिछाने बताउँछन्।

‘अहिलेसम्म मनसुन पूर्व र मध्य भूभागबाट अघि बढ्न सकेको छैन। सुरूवातको प्रभाव जहाँजहाँ थियो अहिलेको अवस्था पनि त्यही नै हो,’ लामिछानेले भने।

अबका दुई तीन दिनपछि ती क्षेत्रहरूमा हाल यथावत् रहेका वायु क्रमशः कमजोर हुने र मनसुन प्रवेश गर्ने क्रम सुरू हुने पनि उनले बताए।

अर्का मौसमविद् सञ्जिव अधिकारीले पनि मनसुन अगाडि बढ्न धेरै ढिला नहुने बताए। उनले तीन दिनपछि मनसुन बिस्तारै पश्चिमतर्फ अगाडि बढ्ने बताए।

बिपरजोए चक्रवात कमजोर बन्दै जाँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी भूभागहरूमा पनि अलिअलि बादल आइरहेको मौसमविद् लामिछानेले बताए। पहाडी भूभागका एकदुई स्थानमा यसले पानीसमेत पारेको छ।

यसको प्रभावले पश्चिम तराईका पश्चिमी भूभागहरूमा तापक्रम पनि क्रमशः घट्दै जाने लामिछानेले बताए।  चक्रवात समाम्तीका असरस्वरूप तापक्रम घटेर हिट वेभ कमजोर हुने सम्भावना रहेको उनले बताए।

लुम्बिनी प्रदेशका भैरहवा लगायतका क्षेत्रमा भने तापक्रम यथावत् नै रहने उनको भनाइ छ।

‘उल्लेखनीय रूपमा झ्याप्पै घटिहाल्ने होइन, लुम्बिनी प्रदेशका पश्चिमी भूभागहरुमा तुलनात्मक रूपमा तापक्रम घट्ने देखिन्छ। पूर्वी भूभागहरूमा यथावत् नै रहन्छ,’ लामिछानेले भने।

मनसुन भित्रिएलगत्तै पूर्वी नेपालमा लगातार पानी परिरहेको छ। आइतबार संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूका विभिन्न स्थानमा बाढी आएको छ।

ताप्लेजङमा एक सातादेखि पानी परिरहेको मौसविद् अधिकारीले जानकारी दिए। त्यहाँ एकसातामा दुईदिन हल्का र पाँच दिन मध्यम वर्षा भएका छन्। अझैपनि कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*