Home / Feature Breaking news / कांग्रेसभित्र विशेष महाधिवेशनको दबाब

कांग्रेसभित्र विशेष महाधिवेशनको दबाब

कांग्रेस रूपान्तरणको मुद्दा बोकेर देश दौडाहा गरेका नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले नेतृत्व बदल्नका लागि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।आफ्नै समूहका नेताहरूबाट आएको विशेष महाधिवेशनको मागप्रति महामन्त्री थापा सकारात्मक भए पनि कोइराला तयार छैनन् । उनले नेतृत्वको विषयलाई लिएर पार्टीभित्र धेरै द्वन्द्व बढाउने पक्षमा आफू नभएको बताएका छन् ।

थापाले भने तत्काल नेतृत्व परिवर्तन नहुने हो भने पार्टी थप संकटमा पर्ने विचार राख्दै आएका छन् । नेता–कार्यकर्ताले विशेष महाधिवेशन माग गरेकाले त्यसको नेतृत्व लिन सातै प्रदेशमा पार्टी रूपान्तरणको अभियान सकेर फर्केका नेताहरूले कोइरालालाई दबाब दिएका छन् । त्यसमा कोइरालाले अनिच्छा राख्दा संस्थापनइतर पक्ष नै दुई खेमामा विभाजित हुने संकेत देखिन थालेको छ ।

केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल, नेविसंघका पूर्वअध्यक्षहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, पूर्वसांसद जगदीशनरसिंह केसी, तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाही, युवा नेता देवराज चालिसेलगायतको समूहले डेढ महिनाअघि पार्टी रूपान्तरणका लागि प्रदेशस्तरीय अभियान सुरु गरेका थिए ।

सातवटै प्रदेशको अभियान गत बुधबार सकिएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू विदेशमा समेत भएकाले असार ३ मा ‘भर्चुअल’ माध्यमबाट ‘डायस्पोरा’ सम्मेलन गर्ने अभियानकर्ताको कार्यक्रम छ । त्यसलगत्तै दोस्रो चरणको जिल्ला अभियानमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने तयारी छ । अभियानमा खटिएका नेता गुरुराज घिमिरेले तल्लो तहका ९० प्रतिशत नेता–कार्यकर्ताबाट वर्तमान नेतृत्व बदल्नुपर्ने र त्यसका लागि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने सुझाव आएको बताए ।

अभियान सुरु गर्दा नै पार्टी सभापति शेरबहादुर देउवा सशंकित थिए । नेतृत्व बदल्ने मुद्दा उठ्न सक्ने बुझेरै उनले कोइरालालाई अभियान रोक्न आग्रह गरेका थिए । ‘कोइरालाले पार्टी रूपान्तरणको दिशामा मात्रै अभियानलाई केन्द्रित गर्ने भन्दै आश्वस्त पारेपछि देउवा रोकिएका हुन्,’ दुई नेताबीचको संवादबारे जानकार एक केन्द्रीय सदस्यले भने ।

नेता घिमिरेले भने अभियान सुरु गर्दाकै बखत कोइराला र महामन्त्री थापालाई विशेष महाधिवेशनसम्म जानुपर्ने परिस्थितिको आकलनबारे प्रारम्भिक जानकारी दिइएको बताए । ‘तल जाँदा पार्टीका नयाँ–पुराना सबै नेता–कार्यकर्ता विशेष महाधिवेशनमा गएर नेतृत्व बदल्नुपर्छ भन्नेमा देखिनुभयो, कांग्रेस सुदृढीकरणको सुनिश्चितता गरिए बरु हामी पछि हट्न सकौंला तर तलका कार्यकर्ता अब पछि हट्न तयार छैनन्,’ उनले भने ।

१४ औं महाधिवेशनमा देउवाका प्रतिस्पर्धी रहेका कोइराला तत्काल नेतृत्व बदल्न सहज नभएको भन्दै आफ्नै समूहका नेताहरूलाई सम्झाउने प्रयासमा छन् । उनले कान्तिपुरसँगको कुराकानीमा पनि नेतृत्वसँग द्वन्द्व बढाउन नचाहेको बताएका थिए । संगठनलाई चलायमान बनाउने सरोकार नै मुख्य रहेको उनको भनाइ थियो । ‘०७४ को निर्वाचनपछि पनि हामीले अर्ली महाधिवेशन र विशेष महाधिवेशनको कुरा उठाएको हो तर पार लाग्ने अवस्था देखिएन, अहिले पनि दुई तिहाइले हटाउन कसरी सकिन्छ ?’ कोइरालाको भनाइ छ ।

रूपान्तरण अभियानका अर्का सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले नेतृत्व सच्चिने र सुधार गर्ने समयसमेत अब नभएको बताए । ‘नेतृत्वप्रति आक्रोश छ, आवेग छ, नेतृत्वको अलोकप्रियताले कांग्रेस कमजोर भएको छ, कार्यकर्ताको मनोबल घटेको छ, त्यसैले पार्टी छाडेर जाने क्रम बढिरहेको छ,’ उनले भने, ‘कांग्रेसप्रति भरोसा र आशा जगाउने हो भने नेतृत्व बदल्नेबाहेक विकल्प छैन । त्यसका लागि नेतृत्व लिन हामी आफ्नो समूहका नेताहरूलाई दबाब दिन्छौं ।’ विशेष महाधिवेशनमा जाँदा नेतृत्वलाई दुई तिहाइबाट हटाउन सकिने उनको दाबी छ ।

नेता घिमिरेका अनुसार पहिलो चरणको समीक्षा सकिएलगत्तै दोस्रो चरणको जिल्ला अभियान सुरु हुनेछ । त्यतिबेला नै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन हुने उनले बताए । ‘जिल्ला अभियानकै क्रममा हस्ताक्षर सुरु गर्छौं, हस्ताक्षर गर्दा ५१ प्रतिशत सजिलै पुग्ने देखिन्छ,’ उनले भने,‘दुई तिहाइ पुर्‍याउन अलि मिहिनेत गर्नुपर्ने हुन्छ ।’

यो मुद्दाले संस्थापनइतरपक्षमै कोइराला र महामन्त्री थापाबीच ध्रुवीकरण बढ्न सक्ने कतिपयको बुझाइ छ । थापाले संरचनागत सुधारले मात्रै पार्टीलाई रूपान्तरण गर्न नसकिने भएकाले नेतृत्व तत्काल बदल्नुपर्ने बताएका छन् । विशेष महाधिवेशनबाट हटाउन सम्भव नभए पार्टीभित्रै आन्दोलनबाट धक्का दिनुपर्नेमा समेत थापाको जोड छ । कोइरालाले भने तत्काल पार्टीका कमीकमजोरी सच्याएर अघि बढ्ने र नेतृत्व १५ औं महाधिवेशनबाट मात्रै बदल्न सकिने बताउँदै छन् । कान्तिपुर टीभीसँगको अन्तर्वार्तामा बुधबार कोइरालाले १५ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने उद्घोषसमेत गरेका छन् ।

‘वैचारिक रूपमै कोइराला र थापाबीच अन्तरद्वन्द्व बढ्ने देखिएको छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘नेतृत्वको मुद्दामा सहमतिको बिन्दु देखिएन भने कोइराला र थापाको बाटो अलग–अलग हुन सक्छ ।’

नेतृत्वलाई बीचमै हटाउने वैधानिक बाटो सभापतिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हो । यस्तो विकल्पमा जाँदा २५ प्रतिशत सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष महाधिवेशन बोलाउन सक्छन् । त्यस्तो प्रस्तावबाट सभापतिलाई हटाउन भने सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ मत आवश्यक पर्छ । १४ औं महाधिवेशनमा कुल प्रतिनिधि ४ हजार ७ सय ४३ थिए । सभापति हटाउन त्यसको दुई तिहाइ अर्थात् ३ हजार १ सय ६२ मत आवश्यक पर्छ । १४ औं महाधिवेशनमा सभापति उम्मेदवार देउवाले २ हजार ७ सय ३३ र कोइरालाले १ हजार ८ सय ५५ मत ल्याएका थिए । दुई तिहाइ मत पुर्‍याउन कोइरालाले पाएकोभन्दा १ हजार ३ सय बढी मत थप्नुपर्ने हुन्छ । जसलाई कोइरालाले सहज ठानिरहेका छैनन् ।

महामन्त्री थापा सकभर पार्टीका आमकार्यकर्ता र मतदाताको भावना बुझेरै नेतृत्वले मार्गप्रशस्त गर्नु राम्रो हुने बताउँछन् । यस्तो विकल्पको सम्भावना कम भएकाले विशेष महाधिवेशनमै जानुपर्ने उनको पनि दोस्रो विकल्प हो । तर, उनमा पनि दुई तिहाइबाट हटाउन सकिन्छ कि सकिँदैन भन्नेमा द्विविधा देखिन्छ ।

सामान्य प्रक्रियाबाट हटाउन नसकिए पार्टीभित्र आन्दोलन गरेर दबाब दिनुपर्ने पक्षमा उनी देखिएका छन् । यसका लागि आमकार्यकर्ताको मनस्थिति बुझ्न अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य प्रदीप पौडेलसहित टिम बनाएर देश दौडाहा गर्ने योजनामा उनी छन् । ‘लामै समय जानुपर्ने हुन्छ, वर्षात् सकिनासाथ देशभर घुम्ने र त्यसपछि एउटा–एउटा निर्णयमा पुग्ने हो,’ थापाले भन्दै आएका छन् ।

थापाले नेतृत्वलाई आफैं मार्गप्रशस्त गर्न पनि आह्वान गर्दै आएका छन् । ‘सभापतिजी जति छिटो नेतृत्वबाट अलग हुनुहुन्छ, त्यति धेरै उहाँ र पार्टीको हितमा हुन्छ,’ मंगलबार विराटनगरमा सञ्चारकर्मीमाझ थापाले भने, ‘अझै पनि आफूले नेतृत्व नगरे पार्टी रहँदैन भन्ने मानसिकता त्याग्नुपर्छ ।’

संस्थापन पक्षका नेता तथा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने पार्टीको बैठक बस्न नसक्दा केन्द्रीय सदस्य तथा पदाधिकारीले समसामयिक रूपमा धारणा राख्ने ठाउँ नपाएकाले यस्ता अभिव्यक्ति आएको बताउँछन् । ‘कतिपय गतिविधि पार्टी हितविपरीत हँॅदाहुँदै पनि हेरिरहनुपर्ने अवस्था छ, पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर शीर्ष तहका नेता र पदाधिकारीले यस्ता अभिव्यक्तिको छिटो सम्बोधन गरेर सबै विचारलाई मूलधारमा ल्याउनुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले मंगलबार विराटनगरमा नेतृत्वले मार्गप्रशस्त गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति र रूपान्तरणको अभियानकर्ताबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुपर्छ भन्ने दृष्टिकोण दुवै उत्ताउलो रहेको विश्वकर्माले बताए । ‘नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्छ भन्ने र विशेष महाधिवेशन बोलाउनुपर्छ भन्नुभन्दा पनि नीति महाधिवेशन कसरी छिटो र सफल ढंगबाट गर्ने त्यतातिर ध्यानकेन्द्रित गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*