Home / Feature Breaking news / खाणलाई निलम्बन गर्न गगन-विश्वप्रकाशको प्रस्ताव, बोलेनन् देउवा
फाईल फोटो

खाणलाई निलम्बन गर्न गगन-विश्वप्रकाशको प्रस्ताव, बोलेनन् देउवा

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव आएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने अडान राखेका हुन्।

देउवा निवास धुम्बाराहीमा बुधबार अपराह्न ५ बजेदेखि बेलुकी ८ बजेसम्म चलेको बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाण मुछिएको र पक्राउसमेत परेको सन्दर्भमा छलफल भएको थियो।

‘खाणजीलाई निलम्बन गरेर अनुसन्धानलाई सहयोग गर्नुपर्छ भनेर दुई महामन्त्रीले भन्नुभयो,’ बैठकमा सहभागी एक पदाधिकारीले सेतोपाटीसँग भने।

नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको प्रसंग पनि बैठकमा सुनाइएको थियो।

महामन्त्रीद्वय थापा र शर्माले खाणलाई निलम्बन गर्नुपर्ने बताए पनि सभापति देउवाले यसबारे केही बोलेनन्।

त्यसपछि बैठकमा आन्तरिक विषयमा छलफल भएको थियो। मुख्यगरी बैठकमा विभाग र भ्रातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको प्रवक्ता प्रकाशशरण महतले दाबी गरे।

यद्यपी खाण पक्राउबारे पनि छलफल भएको उनको भनाइ थियो।

‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ। कतै फरार हुनुभएको छैन। बालकृष्णजीले आफैँले अनुसन्धानलाई सहयोग गर्छु भन्नुभएको छ। अनुसन्धान परिपक्क होस्, पछि पार्टीले कुनै निर्णय गर्नुपरे त्यसैबेला गर्छ,’ प्रवक्ता महतले भने।

उनले खाणबारे अहिले नै थप छलफल आवश्यक नपर्ने दाबी गरेका थिए।

‘उहाँबारे अहिले थप छलफल गर्नुपर्ने छैन। पार्टीको आधिकारिक धारणा उहाँले अनुसन्धानलाई सहयोग गरिरहनुभएको छ भन्ने नै हो। अनुसन्धान परिपक्क होस्, अहिले नै दोषी करार भइसकेको जसरी पार्टीले निर्णय गर्दैन,’ महतले भने।

कांग्रेसका एक पदाधिकारीका अनुसार खाणलगायत विभिन्न विषयबारे छलफल गर्न बिहीबार पनि पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखिएको छ। बिहीबार दिउँसो २ बजे सभापति देउवा निवास धुम्बाराहीमै बैठक बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*