Home / Feature Breaking news / राष्ट्रपति निर्वाचन : कुन दलको मतभार कति ?

राष्ट्रपति निर्वाचन : कुन दलको मतभार कति ?

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत हाल्न पाउनेछन् ।

मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् । पौडेललाई कांग्रेस नेकपा माओवादी (केन्द्र)सहित नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्तिको, राष्ट्रिय जनमोर्चाको साथ छ ।

कुन दलसँग कति छ मतभार ?

निवार्चनका लागि दुई वटा केन्द्र तोकिएको छ । राष्ट्रपति निर्वाचनको अन्तिम नामावली अनुसार १४ राजनीतिक दलकासहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहका छन् ।

३३४ संघीय सांसदमध्ये दुईजनाले मतदानमा भाग लिन पाएनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा रिक्त रहेको छ भने कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित अवस्थामा छन् । संघीय संसद्मा तत्काल कायम रहेका सांसद संख्या ३३२ लाई ७९ ले हिसाब गर्दा २६ हजार २२८ मतभार हुन आउँछ ।

त्यस्तै, प्रदेश सभाका ५५० सदस्यलाई ४८ ले हिसाब गर्दा २६ हजार ४०० हुन आउँछ । यसरी हेर्दा राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ६२८ हुन्छ । यसमध्ये बहुमत ल्याउने उमेदवार राष्ट्रपतिमा विजयी हुनेछ ।

नेपाली कांग्रेस : कांग्रेसका संघीय संसदका ९८ र प्रदेशका १७५ सांसदले भोट हाल्न पाउनेछन् ।  उनीहरूको मतभार १६ हजार १४२ छ ।

नेकपा (एमाले) : एमालेमा संघीय संसदका ९६ र प्रदेशका १६२ सांसदले मत हाल्न पाउनेछन् र उनीहरूको मतभार १५ हजार ३६० हुन्छ ।

नेकपा (माओवादी केन्द्र) : माओवादीसँग सातहजार ६४९ मतभार रहको छ । संघीय ४७ र प्रदेशका ८२ सांसदले मत हाल्न पाउनेछन् ।

नेकपा (एकीकृत समाजवादी) : एकीकृत समाजवादीसँग दुईहजार ५७४ मतभार छ । एकीकृत समाजवादीका संघीय १८ र प्रदेशमा २४ सांसद छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : हाल रास्वपासँग प्रतिनिधि सभामा १९ सांसद छन् । उनीहरूको मतभार १५ सय १ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । ऊसँग दुईहजार ४५० मतभार छ । राप्रपाका प्रतिनिधि सभामा १४ र प्रदेशमा २८ सांसद छन् ।

जनता समाजवादी पार्टी (जसपा) : संघीय संसद्मा जसपाका १५ सांसद छन् । त्यस्तै, प्रदेशमा २२ सांसद छन् । दुईहजार २४१ मतभार छ । तर प्रतिनिधि सभाकी समानुपातिक सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) : लोसपाको कुल मतभार ९७१ रहेको छ । उसका संघीय संसद्मा पाँच र प्रदेशमा १२ सांसद छन् ।

जनमत पार्टी : प्रतिनिधि सभामा ६ र प्रदेश सभा १६ सांसद रहेका जनमत पार्टीसँग एकहजार २४२ मतभार छ ।

नागरिक उन्मुक्ति पार्टी : प्रतिनिधि सभामा चार र प्रदेशमा १२ सांसद रहेको नागरिक उन्मुक्तिसँग ८९२ मतभार छ ।

राष्ट्रिय जनमोर्चा (राजमो) : प्रदेशमा संघीय संसदमा दुई र प्रदेश सभामा एक सांसद रहेको राजमोको मतभार २०६ हुन्छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) :  नेमकिपासँग २२३ मतभार छ । उसको प्रतिनिधि सभामा एक र प्रदेशमा तीन सांसद छन् ।

संघीय समाजवादी : संघीय समाजवादी पार्टीसँग प्रदेश सभाका एक सांसद छन् । जसको मतभार ४८ हुन्छ ।

हाम्रो नेपाली पार्टी : प्रदेश सभामा दुई सदस्य रहेको हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ ।

त्यस्तै, स्वतन्त्र र मनोनीत सांसद पनि मतदाताका रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*