Home / Feature Breaking news / पश्चीम नेपालका थारु गाउँमा माघीको रौनक
फाईल फोटो

पश्चीम नेपालका थारु गाउँमा माघीको रौनक

तुलसीपुर, २९ पुस ।

माघी नजिकिएसँगै थारु बाहुल्यता भएका क्षेत्रहरूमा माघीको रौनक सुरु भएको छ । थारु बाहुल्यता भएका क्षेत्रहरूमा दिनहुँ मेला महोत्सव लगाउने गरिएको छ । जिल्लामा माघी पर्व आउन केही दिन अघिदेखि विभिन्न स्थानमा माघी महोत्सवदेखि आफ्नो पहिचान र संस्कृतिलाई बचाउन विभिन्न कार्यक्रम सुरु भएका छन् ।

यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता छ । थारु बस्तीहरु माघीको तयारीमा जुटेका छन् भने लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकाकामा माघी महोत्सव सुरु भएका छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् ।

थारु संस्कृति झल्कने नृत्य तथा उनीहरूले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् । अहिले गाँउबस्तीमा मघौटा सामा ९सामान० जुटाउने चटारो छ । माघीको विशेष परिकारका लागि ढिंक्री बनाउनका लागि चामलको पिठो, अन्दीको पिठो पिसाउने, दाउरा९पात टिप्न वन जाने, घर लिप्ने, दुना टपरी गाँस्ने, माछाको जोहो गर्ने लगायतका घरकै कामकाज गर्न भ्याइँ–नभ्याइँ छ ।

प्रायः गाउँघरमा अहिले बेलुका थारु गीत गाउने, आगो ताप्ने, माघीका लागि मासुको जोहो गर्ने, बर्घर, महटाँवा चुन्नेलगायतका सरसल्लाह गर्ने गरेका छन् । सधैँ खेतीपाती र ज्याला मजदुरीकै कारण चाडपर्वबाहेक अन्य समयमा थारु समुदाय दिनभर सुनसान जसो नै देखिन्छ । गाउँघरमा बालबालिका र वृद्धवृद्धाबाहेक अरु भेटिँदैनन् ।

माघीको लागि थारू समुुदायले हप्तादिन अघिदेखि नै तयारी शुरु गर्छन् । माघ १ गतेका दिन नजिकको जलाशय नदी, पोखरी, तलाऊलगायतका स्थानमा गएर नुहाउने र महटाँवाको हातबाट चामलको सेतो टिका ग्रहण गरेर दिदीबहिनीहरूका लागि निसराउ ९चामल, नुन, मास० छुट्याउछन् । यसरी छुट्याएको निसराउ दिदीबहिनीहरूलाई आफ्नो दक्षताअनुुसार दानदक्षिणा दिने चलन छ ।

थारू समुदायले माघीलाई पर्वको रूपमा मात्रै होइन, माघ १ गते नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् । वर्षदिन मरी मरी काम गर्ने र माघीमा गाउँले आफन्त सबैले मिलेर बसेर खानपिन खानुका साथै मघौटा नाँच नाचेर रमाइलो गर्ने गरेका टोपराज चौधरी बनाउछन् । छोराछोरीको बिहे, दाजुुभाई छुुट्टिने, नयाँ घर बनाउने, जिम्दारको खेतवारी अधिया लाउने कामदेखि गाउँको अगुुवा महटाँवा, बरघर चुन्ने काम पनि थारू समुदायले माघीकै अवसरमा गर्छन् ।

तर २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपछि थारूहरूले माघीलाई मुक्तिको रूपमा पनि मनाउने चलन छ । थारू समुदायको आफ्नै मौलिक भेषभूषा, भाषा, कला संस्कृति छ । तर पछिल्लो समय यो मौलिकपनमा ह्रास हुँदै गएको छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती छ ।

पुुस्तान्तरण अभावका कारण थारू पहिचानसमेत हराउँदै गइरहेको थारू अगुवाहरू बताउँछन् । पछिल्लो समय युवाहरूले मौलिक पहिचान जोगाउन सकेका छैनन् । पछिल्लो समय थारु समुदायले माघीको अवसरमा माघी महोत्सव, माघी मिलन कार्यक्रमको आयोजना पनि गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*