Home / समाचार / प्रथम तुलसीपुर साँस्कृतिक मेला संचालन हुने

प्रथम तुलसीपुर साँस्कृतिक मेला संचालन हुने

तुलसीपुर, १२ असोज ।

दाङको तुलसीपुरमा ‘प्रथम तुलसीपुर साँस्कृतिक मेला २०७९ ’ संचालन हुने भएको छ । स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ आगामी असोज २५ गतेदेखि कातिक ८ गतेसम्म मेला संचालन हुने भएको हो ।

मेलामा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता हुने मूल आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको विभिन्न साँस्कृतिक प्रस्तुति रहने भएको छ । मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहने उहाँले बताउनुभयो ।

नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।

यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताउनुभयो । दोहोरी प्रतियोगिताको लागि पहिलो चरणमा असोज २६ देखि ३० गतेसम्म अडिसन(छनौट) प्रतियोगिता हुने क्लबका उपाध्यक्ष सुरज ज्ञवालीले जानकारी दिनुभयो ।

मेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ संचालन हुने उहाँले बताउनुभयो । मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको ५ रुपैँया सामाजिक काममा समेत लगाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*