Home / Feature Breaking news / बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सुरु

बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सुरु

दाङ, १ भदौ । ‘नेपाल सामुदायिक सेवा केन्द्र बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ मंगलवार घोराहीमा सम्पन्न भएको छ ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवम् शिक्षक संघ दाङका पूर्व अध्यक्ष गोविन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यौपानेले शिक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने बताए । उनले राज्यको आँखा नपुगेका ठाउँमा संस्थाले उदाहरणीय काम गरेको समेत बताए ।

कार्यक्रममा शिक्षा तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो । संस्थाका संस्थापक सदस्य लीला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले संस्थाको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । हिंसा प्रभावित महिलाहरूलाई सशक्तिकरण महिला उद्यमशील कार्यक्रमहरू रहेको भन्दै ६ सय बालबालिकालाई शिक्षामा निरन्तरताको लागि पोसाक, स्टेशनरी, मासिक शुल्कका साथै अन्य सामग्रीहरू प्रदान गरिरहेको जानकारी दिइन् ।

सामुदायिक परियोजनाअन्तर्गत् संस्थाको सहयोगमा अध्ययन गरेका १ सय २६ जनाले एसइई दिइसकेका छन् । कार्यक्रमको क्षेत्र दाङ, सल्यान, प्यूठान र रोल्पा रहेको छ । बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रमको शुभारम्भको विषयमा जानकारी गराउँदै संस्थापक अध्यक्ष बिमला योगीले जीवन स्वस्थ बनाउन यो कार्यक्रमको सुरुवात गरेको भन्दै एउटा बालिका शिक्षित र स्वस्थ हुनसक्यो भने सिङ्गो देश स्वस्थ हुने विचार राखिन् ।

उनले सामाजिक सञ्जालको उपयोगले परेको मानसिक तनावबाट कसरी जीवन बचाउने भन्ने विषयमा पनि सचेतनामूलक कार्यक्रमको सुरु गरेको बताइन् । कार्यक्रममा पद्मोदय पब्लिक नउमाविका निवर्तमान प्रधानध्यापक डा कृष्णराज डिसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, स्वास्थ्यकर्मी राधा पौडेल, रेडियो हाइवेका प्रबन्ध÷निर्देशक केपी घिमिरेलगायतले विचार राखेका थिए । कार्यक्रमको सहजीकरण पिस कार्यक्रमका प्रमुख आरके शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*