Home / Feature Breaking news / क्यान्सर गराउने रसायन भेटिएको आरोपपछि जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री बन्द

क्यान्सर गराउने रसायन भेटिएको आरोपपछि जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री बन्द

क्यान्सर गराउन सक्ने रसायन मिसिएको भन्दै उत्पादक कम्पनीविरुद्ध सयौँ मुद्दा परेपछि जोन्सन एन्ड जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री–वितरण बन्द हुने भएको छ ।

कम्पनीले सन् २०२३ देखि बालबालिकाका लागि प्रयोग हुने ट्याल्कम पाउडर संसारभर नै उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेको हो । अमेरिका र क्यानडामा भने यो पाउडरको एक वर्षअघि नै बिक्री बन्द भइसकेको छ ।

पाउडरमा घातक केमिकल प्रयोग गरिएको र त्यसले महिलामा डिम्बाशयको क्यान्सर गराएको भन्दै विभिन्न मुलुकहरूबाट हेल्केयर फार्माविरुद्ध मुद्दा दायर गरिएको छ । सन् २०२२ को मध्यसम्म ३८ हजार मुद्दा झेलिरहेको र पछिल्ला पाँच वर्षमा मात्र ३.५ बिलियन डलर जरिवाना भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।

ट्याल्क प्राकृतिक रूपमा हुने खनिज हो, त्यो पृथ्वीबाट निकालिन्छ । यसमा म्याग्नेसियम, सिलिकन, अक्सिजन र हाइड्रोजन पाइन्छ । ट्याल्क कस्मेटिक्स तथा पर्सनल केयर प्रोडक्टसहरूमा प्रयोग गरिन्छ ।

अमेरिकी क्यान्सर सोसाइटीले ट्याल्कजन्य उत्पादनसँग लामो समय सम्पर्कमा रहने व्यक्तिहरूमा फोक्सोको क्यान्सर र ट्याल्कम पाउडरको नियमित प्रयोग गर्ने महिलामा पाठेघरको मुखको क्यान्सरको सम्भावना रहने जनाएको छ ।

कम्पनीले भने यो पाउडरबारे गरिएका अनुसन्धानहरूले हानिकारक नदेखाएको तर हजारौँको संख्यामा परेका मुद्दाले उत्पादन बन्द गर्न बाध्य भएको दबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*