तुलसीपुर, १४ फागुन । जिल्लाबाटै ई–पासपोर्ट सेवा सुरु भएको छ । यसले गर्दा विदेश जान चाहने तथा अन्य व्यक्तिहरूले अब यहीँबाटै ई–पासपोर्ट सेवा पाउने भएका छन् । तुलसीपुरबाट पहिलो पटक ई–पासपोर्ट सेवा सुरु भएको हो ।
ईलाका प्रशासन कार्यालय तुलसीपुरमा बुधवारदेखि ई–पासपोर्ट सेवा सुरु गरिएको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिएका छन् । विगत दुई महिनादेखि एमआरपी पासपोर्ट(राहदानी)सेवा रोकिएको थियो र कार्यालयबाट अबदेखि ई–पोसपार्ट सेवा सुचारु भएको उनले जानकारी दिए । यस अघि ई–पासपोर्टका लागि काठमाडौं जानुपर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिने उनले जानकारी दिए ।
त्यसका लागि राष्ट्रिय परिचपत्र भर्नुपर्ने छ । साविक राप्ती अञ्लचलकै पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुचारु गरिएको हो । राहदानी विभागबाट आएका नेटवर्क इन्जिनियर हड्सन बसीले प्राविधिकबारे जानकारी दिएपछि सेवा सुचारु गरिएको हो । राहदानी विभागले एमआरपी पासपोर्टलाई विस्थापित गरी ई–पासपोर्ट लागू गर्ने योजनाका साथ यस अघि एमआरपी राहदानी सेवा स्थगित गरेको थियो ।
जिल्लामै ई–पासपोर्ट सेवा सुरु भएपछि आफूहरूलाई सहज भएको राहदानी बनाउनेहरू बताउँछन् । ‘ई –पासपोर्ट बनाउन काठमाडौं जाने तयारीमा थिएँ, यही बनाइने भएपछि सहज भएको छ’, युवा मोहनबहादुर वलीले भने । उनले त्यसका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएकाले राष्ट्रिय परिचय–पत्रका लागि फारम भरेको बताए ।