Home / Feature Breaking news / भत्ता डायरी : कैलाश चढ्न मरिहत्ते, मुक्तिनाथमा सकस

भत्ता डायरी : कैलाश चढ्न मरिहत्ते, मुक्तिनाथमा सकस

खेमराज रिजाल –  बालाराम खड्का

तुलसीपुर, ६ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाकी बोटे चौधरी कैलाश चढ्ने प्रवेशद्वारको च्यानलगेट पार गर्नै नसकेर बरण्डाको पर्खालमा आडेसिएकी छिन् । वडा सरकारले बृद्धभत्ता बैंकमा पठाएको हाक पारेपछि उनी आइतवारको एकाविहानै भोकै पेट गाउँले बृद्धबृद्धाहरुसँगै सामाजिक सुरक्षा भत्ता बुझ्न तुलसीपुर स्थित कैलाश विकास बैंक आइपुगेकी थिइन् ।

‘आज पालो आएन, दसैँ मान्ने केले हो’, बैंकको भूइँतलाको च्यानल गेटमै अडिएकी बोटेले भनिन् । मुस्किलले नेपाली भाषा बुझ्ने बोटेसँगै आएका उनका छिमेकी खालीराम चौधरीकाअनुसार गाउलेहरु विहान ७ बजे नै बैंकको गेटमा आएर लाइन बसेका थिए । तर भीड बढ्दै गएपछि लाइन ढिसमिस भयो । लाइन व्यवस्थापन गर्न कैलाश विकास बैंकका अधिकारीहरुलाई खासै चासो भएन, किनकि कार्यालय खुलेकै थिएन्, खुलेपछि कुन पहिला आएको सुरक्षा गार्डले ठम्याउन सकेनन्, होला । त्यसैले मौरीको घारजस्तै ज्येष्ठ नागरिकले खचाखच थियो, कैलाश विकास बैंकको तल्लो तला ।

बुद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा यसरी खचाखच भीडमा पैठेजोरी खेल्दा दोस्रो कहरका रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षा कसरी गर्न सकिन्थ्यो । सामाजिक सुरक्षा भत्ताले झनै असुरक्षा बढाएको स्पष्ट देखिन्थ्यो, ज्येष्ठ नागरिकमा । आफूले लगाएको धोती स्याहार्नै मुस्किल हुने ती ज्येष्ठ नागरिकलाई मास्क, सेनिटाइजर र सामाजिक दूरी दिवास्वप्न जस्तै लाग्थ्यो । धन्न सामाजिक सुरक्षा भत्ता …। बृद्धबृद्धाहरुलाई कैलाश विकास बैंकको उपल्लो तला पुग्न कैलाश पर्वत पुग्नुजस्तै सकस थियो ।

कैलाशमा मात्रै होइन, मुक्तिनाथमा पनि त्यस्तै सकस । विहानैदेखि मुक्तिनाथ विकास बैंकमा पनि सामाजिक सुरक्षा भत्ता लिनेहरुको त्यस्तै भीड देखिन्थ्यो । वडैपिच्छे फरक–फरक बैंकमा बृद्धबृद्धाहरुका खाता खोलिएका छन् । गत साल पनि कोरोना भाइरसको संक्रमणकै बेला लकडाउनमा बैंकहरुमा यसरी नै भीड देखिन्थ्यो । बृद्धबृद्धाहरुलगायत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने सायद यही महिना मात्रै हो कि ? भत्ता लिन आएकाहरुलाई नै यो विषयमा जानकारी थिएन । खल्लीराम भन्छन्—‘सामाजिक सुरक्षा भत्ताले झनै असुरक्षा बढायो, यतिविघ्न भीड हुने गरी सबै गाउँलेलाई किन एकै दिन पठाहोलान्, वडा सरकारले ?, आलोपालो पठाको भा हुन्थ्यो ।’

बैंकमा विहानैदेखिको अस्वाभाविक भीडले छेउकै पसलेहरु समेत असुरक्षित भएको र व्यापार व्यवसाय सञ्चालनमा कठिनाई आइरहेको बताउँदै थिए । ‘भत्ता बुझ्न आउनेहरुको भीडलाई बैंकले पनि व्यवस्थित गर्नसकेको देखिएन, जसका कारण हामीलाई समेत असुरक्षाको अनुभूति भएको छ’–बैंकको तल्लो तलामा पसल व्यवसाय गरिरहेका न्यू अन्नपूर्ण किराना पसलका सञ्चालक कमल अधिकारीले भन्दै थिए– ‘संक्रमण व्यापक भइरहेका बेला बृद्धबृद्धाहरुलाई यसरी सकस दिनु उपयुक्त भएन ।’

वडा सरकारले आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई सचेत बनाउन नसकेका कारण यो भीडको अवस्था देखिएको उनको भनाइ थियो । बैंकमा गइसकेको पैसा कहीँ हराउँदैन, जहिले फुर्सद हुन्छ, त्यहीबेला ल्याए हुन्छ भन्नेसम्म पनि बृद्धबृद्धाहरुलाई जानकारी छैन । अर्को कुरा वडा कार्यालयहरुले पनि बैशाख लागेपछि मात्रै बैंकमा भत्ता पठाउने गरेकाले भीडभाडको समस्या थपिँदै आएको छ ।

कैलाश विकास बैंक र मुक्तिनाथ विकास बैंकको भीड त नमुना मात्रै हो । तुलसीपुर क्षेत्रका अधिकांश बैंकहरुमा स्थानीय पालिकाका वडा कार्यालयहरुले बैंक खाता खोलेका छन् । वडा अनुसार फरक–फरक बैंकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध हुँदै आएको छ । अधिकांश बैंकहरु बृद्धबृद्धा तथा अपाङ्गमैत्री छैनन् । बृद्धबृद्धाहरुको मञ्जुरीनामा लिएर अन्य आफन्तले भत्ता बुझिदिने व्यवस्था पनि सरकारले मिलाएको छैन ।

जसका कारण सामाजिक सुरक्षा भत्ता लिँदा नै धेरै बृद्धहरु संक्रममणको उच्च जोखिममा रहेको नागरिक समाजका सल्लाहकार टीकाराम रेग्मीले बताएका छन् । तर स्थानीय पालिकाहरुले पोहर साल सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने केही वडामा प्रयास गरे पनि यो वर्ष त्यसले पनि निरन्तरता पाउन सकेको छैन । बैंकमा भीड सामाजिक सुरक्षा भत्ताका लागि मात्रै भने होइन, फेरि संक्रमणको अवस्था गम्भीर बन्ने संकेत देखिएपछि दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि पनि बैंकबाट पैसा निकाल्न अन्य ग्राहकहरुको पनि भीड बढ्न थालेको छ । किनकि ग्राहकहरुलाई लागिरहेको हुन्छ, ‘जुनसुकैबेला यहाँ पनि लकडाउन भयो भने …?’
फनपार्कमा सत्तारुढ पार्टीकै जमघट

मुलुकसँगै दाङ जिल्ला समेत कोरोना भाइरसको संक्रमणको हटस्पट बनिरहँदा सत्तारुढ दल नेकपा एमालेको संस्थापन पक्षको बृहत भेला नारायणपुरको अमराइमा चलिरहेको देखिन्थ्यो । मूलद्वारमा सूर्यको झण्डा फहराएर सयौँ नेता कार्यकर्ताहरु सभाहलमा खचाखच भरिएर संक्रमणबाट जोगिने भन्दा सरकार जोगाउने बहसमा तल्लिन थिए । फनपार्कको गेट बाहिरै दर्जनौँ कार तथा मोटरसाइकलहरु पार्किङको अवस्था हेर्दा त्यो भेलामा सयौँ नेता कार्यकर्ताहरुको उपस्थितिको एकिन गर्न सकिन्थ्यो ।

सरकारको गृहमन्त्रालयले भीडभाड हुनेखालका कुनै पनि सभासम्मेलन, जमघट नगर्न र नगराउन निर्देशन दिए पनि सत्तारुढ दललगायत अन्य राजनीतिक दलहरु नै सरकारको यो निर्देशनको उलङ्घन गरिरहेका छन् । यसले सर्वसाधारण नागरिकहरुलाई पनि स्वास्थ्य मापदण्ड पालनाका सन्दर्भमा गम्भीर बनाउनसकेको छैन भने सरकारले जारी गरेका निर्देशनको वास्ता नगर्न प्रेरित गरिरहेको छ । सरकारका उच्च अधिकारीहरुको संरक्षणमै गृहमन्त्रालयले जारी गरेका निर्देशनहरु उलङ्घन भइरहेको पनि नागरिक अगुवाहरुको बुझाई रहेको छ ।

यस्तै भीड सुनदेखि नुन पसलसम्म

तुलसीपुर बजारमा अहिले तीन क्षेत्रका प्रतिष्ठानहरुमा अत्यधिक भीड देखिन थालेका छन् । पहिलो भीड बैंकहरुमा, दोस्रो भीड सुन पसलमा र त्यसपछि नुन पसललगायत अन्य पसलहरुमा । तर कहीँकतै पनि कोरोना भाइरसको दोस्रो चरणको संक्रणबाट बच्ने उपाय अनुरुप नेपाल सरकारले तोकेको न्यूनतम स्वास्थ्यका मापदण्ड प्रयोग भएको पाइएको छैन । हरेक क्षेत्रमा एकपछि अर्को गरी सुरक्षा मापदण्डको उलङघन गर्ने काम स्वयम् नागरिकबाट भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले एउटा अटोलाई खटाएर मास्क लगाउन र सामाजिक दूरी कायम गर्न माइकिङ गरिरहेका बेला बजारको मुटुका रुपमा रहेको वीपी चोकको एक सुन पसलमा कम्तिमा डेढ दर्जन ग्राहकहरुले सुनका गहनाहरुको मोलमोलाई गरिरहेका थिए । पसले र ग्राहकहरुबीच नै सामाजिक दूरी कायम थिएन भने ग्राहकबीच त कोचाकोचकै अवस्था थियो ।

पोहर साल त पसलमा डोरी लगाउने र पसल बाहिर ग्राहकलाई अडिनका लागि चुनरेखा कोर्ने गरिएको थियो तर ती सबै हराइसकेका छन् । यति घातक संक्रमण आइरहँदा सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरु मौन बसिरहँदा प्रहरी सुरक्षाकर्मीहरु पनि दैनिक सिट्टिी फुकिरहनुको कुनै अर्थ देखिरहेका छैनन्, नागरिकहरुले । सुन पसलमा मात्र होइन, नूनलगायत दैनिक उपभोग्य सामग्रीका पसलहरुमा समेत बढी भीड लाग्ने गरेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले जोखिम बढेको भन्दै २५ जनाभन्दा बढीजम्मा नहुने स्वास्थ्य मापदण्डलाई पालना गर्ने भने पनि सो नियमको पालना हुनसकेको छैन । ‘सरकारले आफै नियम बनाएको छ, त्यो निमय यहाँ खै त ? पालना गरेको बृद्ध वृद्धाहरुले भने । उनीहरुले यस्तो अवस्थामा सम्बन्धित स्थानीय निकायहरुले पनि ख्यान नगरेको भन्दै आफूहरु जोखिम मोलेर यो भीडभाडमा आएको बताए । कोरोनाको दोस्रो लहरले नेपालमा ठूलो क्षति पु¥याउने आँकलन विज्ञहरूले गरेका बेला अन्य स्थानमा पनि स्वास्थ्यको ख्यालै नगरी लापरवाही हुने गरेको छ । अन्य जिल्लाजस्तै दाङ पनि कोरोना संक्रमणको हिसाबले रेड जोनमा परे पनि यहाँ भने त्यसलाई ख्याल नगरेको विज्ञहरु बताउँछन् । बजारका सबै पसलहरुमा भीडभाड हुने गरेका छन् । नून किन्नेदेखि सुन किन्ने पसलहरुमा मानिसको भीड लाग्ने गरेको छ ।

सर्वसाधरणहरुले सामाजिक दूरी कायम नगर्ने र माक्स पनि प्रयोग नगर्ने धेरै रहेका छन् । ‘कसैले पनि माक्स लगाउनुहुन्न, बजारका सबै स्थानमा भीडभाड छ’ –स्थानीय एक व्यवसायीले भने । उनले माक्स लगाउन अनुरोध गर्दा समेत अटेरी गर्ने गरेको बताए । दैनिक कोरोना संक्रमणका बिरामीहरु भेटिने गरे पनि पछिल्लो समयमा भने स्वास्थ्यमा लापरवाही गरेकाले यसले ठूलो जोखिम निमत्याउने बताएको छ । यस अघि सरकारले स्रोत र साधनको पर्याप्त व्यवस्थापन गर्न नसक्दा धेरै बिरामीको उपचार नपाएर निधन भएको थियो ।

‘कोरोनासँग जोगिने भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यो बाहेक अन्य विकल्प हामीसँग छैन । स्वास्थ्य मन्त्रालयले बैठक, आमसभा, सम्मेलन भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेण्ट तथा क्लवहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभासम्मेलन, बैठकमा सहभागी नहुन मन्त्रालयले अनुरोध गरेको छ । तर बैठक सभाहरु भने सुचारु भने भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*