Home / Feature Breaking news / मोरङको उखुबारीमा भेटिएको अर्को शव पनि व्यवसायीकै, दुवैको ‘कनेक्सन’ खोज्दै प्रहरी

मोरङको उखुबारीमा भेटिएको अर्को शव पनि व्यवसायीकै, दुवैको ‘कनेक्सन’ खोज्दै प्रहरी

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा उत्खनन गरेर निकालिएका दुवै शवको पहिचान खुलेको छ । यही माघ १३ गते उत्खनन गरिएको शव सप्तरीका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय भएको र काठमाडौंको क्षेत्रपाटीमा बस्दै आएको खुलेको छ । उनी एक महिनाअघि घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

माघ १४ गते उखुबारीमै अर्को खाल्डोबाट पनि शव निकालिएको थियो । उक्त शव सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको रहेको यसअघि नै पहिचान भइसकेको छ । उनीहरू दुवैजना चिनजानकै रहेको र जग्गा कारोबार गर्दै आएको अनौपचारिक सूचना प्रहरीले प्राप्त गरेको छ । उनीहरू दुवैको ‘कनेक्सन’ पनि प्रहरीले खोजिरहेको छ ।

उखुबारीमा चौधरीको शव निकालिएको स्थानकै नजिक राजेन्द्रकुमार श्रेष्ठको शव फेलापरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार उनीहरूको हत्या घटनास्थलमै भयो वा अन्यत्र भन्ने खुलेको छैन ।

उनीहरूलाई गाडिएको खाल्डोमा शव गलाउन नुनको समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको एक महिनाअघिदेखि मोबाइल अफ थियो । तर, उनी मोरङकै एक होटेलमा बसेको खुलेको छ । शवको पहिचान भएसँगै अनुसन्धानले गति लिने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी अधिकारीहरूका अनुसार हत्यापछि शव गाडिएको प्रकृति हेर्दा योजनाबद्ध तरिकाले घटना गराइएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*