Home / Feature Breaking news / राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदाता भेट्दै उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदाता भेट्दै उम्मेदवार

दाङ, ८ माघ । राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । माघ १२ गते हुन थालेको निर्वाचनका लागि उम्मेदवारहरु प्रदेशका विभिन्न जिल्ला–जिल्लामा पुगेर मतदातासँग भेटघाट गर्दै भोट माग्ने गरेका छन् । शुक्रवार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले दाङको घोराही आएर मतदातासँग भेटघाट गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाका पार्टीका तर्फबाट लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरु बनेका युवराज शर्मा, राजेन्द्रलक्ष्मी गैरे र तुलप्रसाद विश्वकर्माले मतदातासँग भेटघाट गरेर आगामी निर्वाचनमा आफूहरुलाई जिताउन आग्रह गरेका थिए ।

राष्ट्रियसभा निर्वाचन प्रसार–प्रसार समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै देशको विकासका लागि आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरेका थिए । उनीहरुले देशलाई अप्ठ्यारो परिस्थितिबाट निकास दिँदै विकासको कामलाई अघि बढाउन गठबन्धनको आवश्यकता रहेकोमा जोड दिएका थिए । उनीहरुले लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारहरुको विजय निश्चित भएको भन्दै परिणाम घोषणा हुनमात्र बाँकी रहेको बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मा, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरामणि बेल्वासेले गरेका थिए । कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्षसँगै पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

लुम्बिनीमा गठबन्धन बलियो

लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २ सय ९६ हो । प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । जसमा प्रदेश सांसद ८१ जना छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ हुने छ । जसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन् । जसको कुल मतभार २१ सय १२ हुन्छ ।

स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन् । गठबन्धनको स्थानीय तहतर्फको कुल मतभार २ हजार १ एक ७८ हुन्छ । प्रदेशसभा र स्थानीय तह दुवैतर्फ गरी जम्मा लुम्बिनीमा गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ । त्यसैगरेर एमालेको प्रदेशसभामा ३६ र स्थानीय तहतर्फ ८८ प्रमुख तथा उपप्रमुख छन् ।

जसमा प्रदेशसभातर्फको मतभार १ हजार ७ सय २८ र स्थानीय तहतर्फको मतभार १ हजार ५ सय ८४ गरि जम्मा एमालेको लुम्बिनी प्रदेशमा कुल मतभार ३ हजार ३ सय १२ रहेको छ । यस आधारमा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले एमालेभन्दा अघि छ । लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फको रहेको छ । स्वतन्त्रतर्फको कुल मतभार १ सय २० रहेको प्रदेश निर्वााचन कार्यालयले जनाएको छ ।

गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी मनोनयन गरेका छन् । एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दिएका छन ्। प्रदेशमा अन्य, महिला र दलित तर्फका एक÷एक गरी तीन सिटका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*