Home / Feature Breaking news / दाङमा पुल र सडकका लागि ९६ करोड बजेट

दाङमा पुल र सडकका लागि ९६ करोड बजेट

लिलाधर वली

दाङ, २१ मंसिर । जिल्लामा सडक तथा पुल निर्माणका लागि प्रदेश सरकारले ९६ करोड बढी बजेट बिनियोजन गरेको छ । जिल्लामा सडक, पुल निर्माण तथा मर्मत सुधारका लागि आर्थिक बर्ष २०७८÷०७९ मा ९६ करोड ९५ लाख ३० हजार रुपैया बजेट बिनियोजन गरेको सडक पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार सडक तथा पुल निर्माणका लागि ९० करोड १७ लाख, संघ सर्सत अनुदानतर्फ पुल निर्माणका लागि दुई करोड ४० लाख र सडक पुल मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम ४ करोड ३८ लाख ३० हजार गरी जम्मा ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर तथा सूचना अधिकारी चन्द्रबहादुर शाहले बताए ।

सूचना अधिकारी शाहका अनुसार यसबर्ष जिल्लामा सडक तथा पुल निर्माणका लागि एक सय २८ बढी साना तथा ठुला योजनाहरु छन् । ‘प्रदेश सरकारअन्तर्गत जिल्लामा साना ठुला गरेर एक सय बढी सडक तथा पुल निर्माणका योजनाहरु छन् । ती योजनाहरुमा ९६ करोड बढी बजेट रहेको छ’,सूचना अधिकारी शाहले भने,‘जसमा प्रदेशको गौरवको आयोजनाहरुदेखि क्रमागत रुपमा रहेका पुराना साना तथा ठुला सडकहरु लाइनमा रहेका छन् ।’ उनका अनुसार ८ वटा पक्की पुल निर्माण सम्वन्ध्ी योजनाहरु रहेका छन भने अधिकांस सडक सम्वन्धी कार्यक्रमहरु छन् ।

सडक सम्वन्धी योजनाहरुमा नयाँ सडक निर्माणका लागि सम्भव्यता अध्ययन गर्ने, नयाँ सडकको ट्रयाक खन्ने, सडक विस्तार, ग्राभेलसँगै कतिपय ठाउँमा सडक कालोपत्रे गर्ने योजना रहेको सूचना अधिकारी शाहले बताए । ‘जिल्लामा सडक सम्वन्धी धेरै योजनाहरु रहेका छन । ती मध्य कतिपय ठाउँमा नयाँ ट्याक खन्नेदेखि सडक कालोपत्रे गर्नेसम्मका छन्’,उनले भने,‘जसका लागि कार्यालयले सूचना प्रकाशन गरेर टेन्डरको तयारीमा लागेको छ ।’

सिमलतारा–मुलावारी–हाँसीपुर हुँदै चैते जोड्ने सडक, तुलसीपुरमा गरगरेदेखि सुकौरा जोड्ने सडक, बिजौरी–संक्राम जोड्ने सडक, घोराही–मसिना–मर्पेस,पाखापानी, उजामीन्दर हुँदै प्युठानको स्वर्गद्धारी जोडने सडक, बखरिया–सरुवाडाडा–गोलटाकुरी सडक, पश्चिम दाङको हापुरे–गंगटे हुँदै कोहलपुर जोड्ने सडकलगायतका सडक योजनाहरु सूचना अधिकारी शाहले बताए ।

विकास बजेट खर्च न्यून

९६ करोड बढी बजेट रहेको प्रदेश पूर्वाधार विकास कार्यालयको खर्च भने न्यून देखिएको छ । आलुआर्थिक बर्षको कार्तिक महिनासम्म २ दशमलव ७० प्रतिशत अर्था ९६ करोड ९५ लाख ३० हजार रुपैया मध्य सडक तथा पुल निर्माणका लागि दुई करोड ४५ लाख ८६ हजार रुपैया मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

उक्त रकम सडक तथा पुल निर्माण अन्तर्गत दुई करोड २० लाख ४३ हजार र सडक पुल मर्मत सुधार तथा सडक सूरक्षा कार्यक्रम अन्तर्गत २५ लाख ४३ हजार रुपैया मात्र खर्च भएको सडक पूर्वाधार विकास कार्यालय सूचना अधिकारी चन्द्रबहादुर शाहले जानकारी दिएका छन् । ढिला बजेट आएका कारण कार्तिकसम्म बजेट खर्चको अवस्था कमजोर देखिएको उनले बताए ।

‘सरकार फेरबदलले गर्दा बजेट ढिला आउदा खर्च कम देखिएको छ’,सूचनाअधिकारी शाहले भने,‘करिव एकसय बढी योजनाहरु मध्य ४० वटा मात्र टेन्डरका लागि सूचना प्रकाशन गरेका छौ ।’ उनका अनुसार बाँकी योजनाहरु अब छिट्टै नै टेण्डरका लागि प्रक्रियामा लगिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*