Home / Feature Breaking news / ट्राफिक नियम सुझाउँदै सडकमा विद्यार्थी

ट्राफिक नियम सुझाउँदै सडकमा विद्यार्थी

दाङ, ५ साउन । दुई बर्षअघि दाङको घोराही बजारको सहिदगेट नजिक एउटा फलामे छड बोकेको टेक्टरमा ठोक्किँदा एकजना स्कुटीमा सवार महिलाको छातीमा छड रोपिएर ढाडबाट निस्किएका थिए । यहाँका स्वास्थ्य संस्थाले ती महिलाको शरीरमा रोपिएका छड निकाल्न सकेनन् ।

रोपिएका छडको बाहिरको भाग हेक्सो व्लेडले काटेर ती महिलालाई छडसहित उपचारका लागि राजधानीका वीर अस्पतालदेखि शिक्षण अस्पतालसम्म पु¥याइयो । संयोगले टिचिङ अस्पतालमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो । र उनी निको भइन् ।

त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले टेक्टर तथा ट्रकमा फलामे छड बोक्दा छडका टुप्पामा अनिवार्यरुपमा बोराले बाँधेर छोप्न निर्देशन दियो । छड बोक्नेहरुले पनि बजार क्षेत्रमा ट्राफिकको निर्देशन पालना गर्ने गरेको पनि देखियो । तर बोराले नबाँधी छड बोक्ने काम फेरि सुरु भएको छ ।

जुन क्षेत्रमा दुई बर्षअघि गम्भीर दुर्घटना भएको थियो, त्यही सहिदगेट क्षेत्रमा एउटा टेक्टरमा यसरी नै छड बोकिरहँदा विद्या निलकण्ठ माविका विद्यार्थीहरुले नियन्त्रणमा लिए र ट्राफिकलाई बुझाए । आफ्नो सामाजिक उत्तरदायित्वको अभियानअन्तर्गत सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने सचेतना अभियानमा सडकैभरी आएका विद्यार्थीहरुले यसरी नै सम्भावित दुर्घटनाका पक्षहरुलाई सुझाइरहेका थिए ।

विद्यार्थीहरुका अनुसार पूर्णरुपमा ट्राफिक नियम पालना गर्नेहरु पाउनै मुस्किल थियो । पैदल यात्रु र सडक काट्ने नागरिकहरुले समेत नियमको कुनै प्रवाह गर्ने गरेका छैनन् । घोराहीको मुख्य तुलसीपुर चोकमै खुलेआम हेलमेट नलगाएर एकजना निजामती कर्मचारी पनि स्कुटीमा सवार भेटिएकी थिइन् ।

उनले हतारोमा बच्चा स्कुल पु¥याउन जाँदा हेलमेट नै लगाउन भुलेको विद्यार्थीहरुलाई सुझाइरहेकी थिइन् । विद्यार्थीले कम्तीमा दश मिनेट त होल्ड भएर जानुस् भनेपछि ती महिला शक्ति केन्द्रमा फोन डायल गरिरहेकी देखिन्थिन् ।

लाइसेन्स र व्लुबुक दुवै बोक्नेहरु अत्यन्तै कम देखिएका छन् । निजी कार र स्कर्पियोका चालकहरुले पनि सिट बेल्ट बाँधेको कतै पनि देखिएन’, नियम सुझाउन सडकमा खटिएका विद्यार्थीहरुले भनिरहेका थिए । सबै क्षेत्रलाई ऐन नियमको वास्ता नभएपछि दुर्घटना न्यूनीकरण निकै चुनौतीपूर्ण देखिएको छ ।

मुख्य चोकहरुमा जेव्राक्रसिङ भएर पनि बाटो काट्नेहरुले मनपरी क्षेत्रबाट काटिरहेका देखिन्थे । साँघुरा सडक, त्यसैमाथि ट्राफिक नियम पालना नगर्ने अभ्यासका कारण दुर्घटना न्यूनीकरणमा निकै चुनौतीहरु थपिएका छन् ।
एउटा विद्यार्थी ट्राफिक नियमका विषयमा सचेत बन्यो भने उसले आफ्ना अभिभावकहरुलाई यस विषयमा सुझाउने र आम नागरिकहरुमा यसको सकारात्मक सन्देश जाने ट्राफिक प्रहरी अधिकारीहरुले अपेक्षा गरेका छन् ।

त्यसैले बुधवार विहानैदेखि विद्यानीलकण्ठका विद्यार्थीहरु, तुलसीपुर चोक, दामोदर चोक, शहिद गेटलगायतका मुख्य चोकहरुमा समूह बनाएर ट्राफिक नियम सिकाइरहेका थिए । केही सवारी चालकलाई यस क्रममा केही समय होल्ड गरिएको पनि दृश्य देखिएको थियो । विद्यार्थीहरुको यो सामाजिक उत्तरदायित्वको अभियानमा सञ्चार क्षेत्रका प्रतिनिधिहरु पनि उत्सुकतापूर्वक जोडिएका थिए । कतै विद्यार्थीहरुको अभिव्यक्ति लिने त कतै ट्राफिक प्रहरीहरुको अभिव्यक्ति लिन सञ्चारकर्मीहरु पनि बुधवार विहानैदेखि सडक चोकमा व्यस्त थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*