Home / Feature Breaking news / पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुन्‍छ : मुख्यमन्त्री केसी

पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुन्‍छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् । उनले दुराशयपूर्ण नियतबाट आएको बजेट तथा नीति तथा कार्यक्रम संशोधन हुने बताएका हुन् ।

पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री केसीले संसद्‌बाट पारित नै नभएको बजेट स्वाभाविक रुपमा संशोधन हुने बताए । उनले संविधानले व्यवस्था गरे अनुसार संसद्‌को बाटोबाट आउनुपर्ने बजेट सदनको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट आएको टिप्पणी गर्दै त्यस्तो बजेट संशोधन हुनुलाई स्वाभाविक मान्‍नुपर्ने बताए । ‘संविधानत संसदको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट बजेट ल्याउने गलत मनसाय नै थियो ।’ उनले भने,‘पेश गर्ने अनि भागेर हिँड्न मिल्दैन, त्यो लोकतान्त्रिक अभ्यास पनि होइन ।’

उनले आफ्नो पहिलो काम विधि र प्रक्रियालाई कार्यान्वयन गर्ने तथा प्रदेशको संरचनालाई बलियो बनाउने तर्फ केन्द्रित हुने बताए । प्रदेशबाट जनताले गरेको अपेक्षालाई देखिने गरेर पुरा गर्नु सरकारको कर्तब्य भएको बताउँदै मुख्यमन्त्री केसीले सरकारका काम परिणाममुखी हुने दाबी गरे ।

घटनाक्रमले संविधानमाथि नै प्रश्न उठ्ने गरी अस्थिरता आएको उल्लेख गर्दै उनले कानुनी र संवैधानिकरुपमा सहि बाटोमा आएको अवस्थालाई नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे । उनले फरक फरक सिद्धान्त र विचार भएको गठबन्धनभित्र लोकतन्त्रलाई मजबुत बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने विषयमा एक मत रहेको बताउँदै उनले संविधानको सहित कार्यान्वयन नै गठबन्धनको कार्यभार भएको बताए ।

८/८ महिनाको आलोपालो सरकार सञ्‍चालन गर्ने सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री केसीले आपसी समझदारीका आधारमा लोकतान्त्रिक संस्कार देखाइने प्रतिवद्धता व्यक्त गरे । विपक्षी एमालेलाई लक्षित गर्दै मुख्यमन्त्री केसीले कुर्सी सिध्याउने र आफू बाँच्‍ने संस्कार नदेखाइने बताए । उनले सञ्चार विधेयक विषयगत समितिमा छलफलमा रहेको बताउँदै सरोकारवाला निकायको सुझाव अनुसार संशोधन गरेर मात्र संसद्‌बाट पास हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*