Home / Feature Breaking news / एक बर्षमा ६ सय ६७ घनफिट काठ बरामद

एक बर्षमा ६ सय ६७ घनफिट काठ बरामद

दाङ, १८ साउन । दाङमा अवैधरुपमा काटिएको ६ सय ६७ घनफिट बढी काठ डिभिजन वन कार्यालय घोराहीले एक बर्षको अवधिमा नियन्त्रणमा लिएको छ । कार्यालयले गत बर्षको साउन महिनादेखि असारसम्म जिल्लाका विभिन्न स्थानबाट ६ सय ६७.८८ घनफिट काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

कार्यालयले जिल्लाका १६ स्थानबाट उक्त अवैध रुपमा कटान गरिएको काठ नियन्त्रणमा हो । उक्त काठ चोरी तथा ओसार–पसारमा संलग्न रहेका ४१ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय घोराहीका प्रशासन अधिकृत तुलसीराम सुवेदीले जानकारी दिएका छन् ।

वन क्षेत्रबाट काठ काट्नका लागि कार्यालयबाट स्वीकृत लिनुपर्ने भए पनि स्वीकृतविनै काठ कटान गरेपछि कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ‘कार्यालयले एक बर्षको अवधिमा १६ स्थानबाट साढे ६ सय घनफिट बढी काठ नियन्त्रणमा लिएको छ’, प्रशासन अधिकृत सुवेदीले भने– ‘अहिले उक्त अवैध काठ चोरीमा संलग्नमाथि कारबाहीका लागि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका अभियुक्तहरुलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धानलाई अघि बढाइएको उनले बताए ।

कार्यालयका अनुसार गत बर्ष घोराही उपमहानगरपालिका–१२ निवासी सुदन गिरीसहित दुई जनालाई ११७.२१ घनफिट सालको काठसहित पक्राउ गरेको थियो । उक्त मुद्दा अहिले अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ । त्यस्तैगरी घोराही उपमहानगरपालिका–२ निवासी लालबहादुर चौधरीसहित ४ जनालाई ७६.४० घनफिट सालको चिरान काठ र ५४.८४ सालको गोलियासहित, बबई गाउँपालिका–२ निवासी गोपाल घर्तीसहित ५ जनालाई ३६.९० घनफिट चिरान र ७.३३ घनफिट सालको गोलिया, घोराही–१ निवासी मानबहादुर रावतलाई ६१.३९ घनफिट असनाको गोलियासहित पक्राउ गरिएको वन कार्यालयले जनाएको छ ।

त्यसैगरी घोराही–१३ निवासी ओमराज कामीसहित ४ जनालाई ३.४३ घनफिट सालको चिरान काठ, बबई गाउँपालिका–४ निवासी युवराज विकलाई ६.३९ घनफिट काठ, घोराही–१३ निवासी धर्मजित बुढा र जीवन चौधरीलाई ११.७९ घनफिट सालको काठसहित, शान्तिनगर गाउँपालिका ३ निवासी शशिराम घर्तीसमेतको संलग्नतामा ५९.६८ घनफिट चिरान गरेको र ६.४० घनफिट सालको गोलियासहित, बबई गाउँपालिका–७ निवासी यज्ञलाई ५४.१४ घनफिट काठसहित पक्राउ गरेको छ ।

बाँके जिल्ला कोहलपुर नगरपालिका–२ निवासी राजकुमार बुढासमेतको संलग्नतामा काटिएको १३.७२ घनफिट सालको काठ, बाँके जिल्ला कालाफाटा गाविस–७ निवासी पाचु रैदाससमेत ६ जनाको संलग्नतामा काटिएको ७.७० घनफिट काठ, घोराही–१२ निवासी सौजन्य खनालसमेत ३ जनाको संलग्नतामा काटिएको ६३.५१ प्रतिशत सालको गालिया काठ, घोराही–१२ कै पूर्णबहादुर रेउलेसहित २ जनाको संलग्नतामा काटिएको २३.४५ घनफिट चिरान र २८.८३ घनफिट गोलिया, दंगीशरण गाउँपालिका–६ निवासी कुलबहादुर खत्रीसहित ३ जनाको संलग्नतामा काटिएको ३.३४ घनफिट र राजन केसीको संलग्नतामा काटिएको २०.८३ घनफिट काठ कार्यालयले गतबर्ष नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

सानो काठसहितको परिमाणका मुद्दाहरु डिभिजन वन कार्यालयका प्रमुखले हेर्न मिल्ने भए पनि प्रदेश वन ऐन नबन्दा मुद्दाहरु अदालत पठाउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा चाँडै फैसला गर्न सकिने मुद्दाहरु पनि प्रदेश वन ऐन नहुँदा ढिलाई हुने गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*