Home / Feature Breaking news / सुजिताको मृत्युको कारण पोष्टमार्टममा खुलेन, हत्या कि आत्महत्या ?

सुजिताको मृत्युको कारण पोष्टमार्टममा खुलेन, हत्या कि आत्महत्या ?

काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाउको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा कुनै पनि प्रकारको चोटपटक नदेखिएको हो ।

एक प्रहरी अधिकारीले भने,“रिपोर्टमा मृत्युको कारण खुल्न सकेन । शरीरका कुनै पनि भागमा चोट छैन । जबरजस्ती करणी गरेको पनि देखिएको छैन । यसले अनुसन्धानलाई थप पेचिलो बनाएको छ । अब उनको शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण ल्यावमा हुनेछ ।”

सुजिताको भिसेरा परीक्षण हुनेछ । जसमा उनले जीवितै कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे त्यसपछिमात्रै खुल्ने प्रहरी अधिकारी बताउँछन् ।

असार ११ गतेबाट बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन । भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरुको विश्वास छ ।

सुजिताको हत्या भएको आफन्त र स्थानीयको दाबी छ । सुजिताले असार ११ गते दिदीलाई आफूलाई दुई महिला र एकजना पुरुषले गाडीमा हालेर लैजान खोजेको बताएकी थिइन् । असार ११ गते १२ बजेर ४३ मिनेटसम्मको समयमा सुजिताको मोबाइल अन भएको र त्यसपछि अफ भएको पाइएको एक प्रहरी अधिकारीले बताए ।

सुजिताको शव भेटिएको स्थानमा विषादीको बट्टा पनि भेटिएको थियो । घटनास्थलभन्दा केही पर उनले प्रयोग गर्दै आएको मोबाइलसमेत भेटिएको छ । तर सिमकार्ड भने फेला परेको छैन । प्रहरीले मोवाइलसँगै सुजिताले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको समेत प्राविधिक विश्लेषण गरिरहेको छ ।

आफन्तले सुजिताको अहरणको दाबी गरे पनि अनुसन्धानमा अपहरणको संकेत नदेखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
एक अधिकारीले भने,“अपहरणको संकेत फेला परेको छैन । तर सुक्ष्म अनुसन्धानमै छौं । मोबाइल फेला परेकाले अनुसन्धानमा केही सहजता हुनेछ । त्योभन्दा पनि विषादी सेवन लगायतको रिपोर्ट हाम्रा लागि महत्वपूर्ण छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*