Home / Feature Breaking news / गोली लागेर सेनाका जवान गम्भीर घाइते

गोली लागेर सेनाका जवान गम्भीर घाइते

वीरगञ्ज, ७ असार  ।

पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।

‘पहिला उपचारलाई प्राथमिकता दिएका छौं, बिरामीको होस आएको छ, थप उपचारका लागि काठमाण्डुस्थित आर्मी अस्पताल लैजान हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘उपचारबाट अलि राम्रो भएपछि उसले घटना कसरी भयो ? भनेर आफैं बताउँछ, घटनाको सेनाले नै अनुसन्धान गर्छ । आवश्यक पर्‍यो भने प्रहरीको पनि मद्दत लिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*