Home / Feature Breaking news / विद्यार्थीमा देखिने मनोसामाजिक समस्या र शिक्षकहरुको भूमिका

विद्यार्थीमा देखिने मनोसामाजिक समस्या र शिक्षकहरुको भूमिका

लक्ष्मी ढकाल
कोभिड–१९ को माहामारीसँगै शिक्षकको भूमिकामा ठूलो चुनौती देखापरेको छ । विद्यार्थीमा लामो समयसम्म घरमा बस्नु परेको अवस्थामा, लकडाउनले विभिन्न प्रकृतिका समस्याहरु सतहमा ल्याएको छ। अबको यो स्थितिमा, शिक्षक र शैक्षिक संस्थाहरुले शैक्षिक उपलब्धीमा मात्र नभएर अन्य विभिन्न विषयमा समेत ध्यान पुर्याउनुपर्ने अवस्था देखिन्छ। यी विभिन्न पाटाहरु मध्य मानसिक स्वास्थ्य पनि एक हो। नेपालका अधिकांश शैक्षिक संस्थाहरुमा मनोविमर्शकर्ता, नर्स, therapist, नभएका कारण, स्वतः यो जिम्मेवारी पनि शिक्षकले नै सम्हाल्नुपर्ने हुनसक्छ ।
विद्यार्थीले विद्यालयमा ( हालकोलागि अनलाइनमा) धेरै समय ब्यतित गरेका हुन्छन्। सामान्यतय, शिक्षक पढाउने र सिकाउने कुरामै बढि केन्द्रित रहेको पाइन्छ तर सिकाई प्रक्रिया फरक भएकै अवस्थामा, शिक्षकको भूमिका अझ ठूलो भएको छ।
विद्यार्थीमा मनोसामाजिक समस्याका लक्षणहरु विभिन्न रुपमा देखा पर्न सक्दछन्; शारीरिक र बानी व्यवहारमा, भावनामा, सोच्ने, सम्झने, विचार गर्ने, निर्णय लिने क्षमतामा आदि। शरीर तथा व्यवहारमा (टाउको वा पेट दुख्ने, निन्द्रामा समस्या, खानामा गडबढी,कम बोल्ने,विद्यालय जान नमान्ने,झगडा गर्न मन लाग्ने, सानो–तिनो कुरामा झर्को मान्ने, एक्लै बस्न रुचाउने, जिद्धि गर्ने, बेहोसमुर्छा पर्ने, अस्वभविक बानी व्यहोरा चोरी,नङ टोक्ने, औला चुस्ने आदी ), भावनात्मक लक्षणहरु (कक्षामा बोल्न डर लाग्ने , कुनै कुरामा चाख नलाग्ने, मन दुःखी हुने, नर्वस हुने आदि), सोच्ने, सम्झने सन्दर्भमा ( ध्यान केन्द्रित गर्न कठिनाइ हुने, बिर्सने समस्या) ।
समस्या पहिचान गर्दा ध्यान दिनु पर्ने कुराहरु:
विद्यार्थीको समस्या पहिचान गर्दा विभिन्न कुराहरुमा विशेष ध्यान पुर्याउनुपर्छ। लामो समयदेखि ( दुई हप्ता वा बढी निरन्तर रुपमा ) माथि उल्लेखित समस्याहरु देखा परेमा सचेत हुनुपर्दछ।
एक्कासी ,कुनै विद्यार्थीको बानी व्यवहार र विद्यालयका क्रियाकलापमा आमुल परिवर्तन आएमा ( जस्तै- खेलमा विशेष रुचि राख्ने विद्यार्थी ,खेलबाट टाढा जान थालेमा,कक्षाकोठामा सहभागितामा कमि देखिएमा ,साथीहरुसँग घुलमिल बन्द गरेमा, खाने बानीमा परिवर्तन आएमा आदि)। बालबालिकाको घर परिवारको सम्बन्धमा र विद्यालयमा साथी -शिक्षकहरुसँगको सम्बन्धमा पनि धेरै नै फेरबदल देखिएमा चनाखो हुनु आवश्यक हुन्छ । समस्या पहिचान गर्ने क्रममा, बालबालिकाको स्वभावगत विशेषतालाई पनि ध्यान दिनुपर्छ। विद्यार्थीहरुको उमेर समूह नै केही चकचके, उट्पट्याङ गर्ने, बठ्याइँ गर्ने हुन्छ, तसर्थ समस्या पहिचान गर्दा उमेरगत विशेषतालाई पनि ध्यान दिनु आवश्यक पर्छ।
शिक्षकले गर्न सक्ने सहयोग
शिक्षकहरूले एक अभिभावक, सल्लाहकार, अनुशासन प्रवाह गर्ने व्यक्तिको रूपमा पनि काम गर्ने अपेक्षा गरिन्छ। शिक्षकले विद्यार्थीलाई उचित सहयोग गर्न केही ज्ञान, सीप र रणनीतिका बारेमा थाहा पाउनुपर्ने हुन्छ।
१. सक्रिय श्रवण (Active listening) – एक प्रभावीकारी शिक्षकको जिम्मेवारी केवल विद्यार्थीलाई पढाउने मात्र नभएर, परि आएको खण्डमा विद्यार्थीका समस्याहरु सुन्ने , समानुभूति र समझदारीको साथ सामना गर्नको लागि प्रेरित गर्नु पनि हो।शिक्षकहरुको सुन्ने कलाले विद्यार्थीहरूको मनोभाव बुझ्न र आवश्यक सहयोग पुर्याउन मद्दत गर्दछ।
२. गोपनियता अपनाउने- विद्यार्थीले आफ्ना समस्याका बारेमा खुलेर कुरा गर्दा,तपाईको जिम्मेवारी हुन्छ कि तपाईले उनीहरुको गोपनीयताको सम्मान गर्नु,अनुमतिविना कसैलाई पनि कुरा नभन्नु।आत्महत्याको विचार व्यक्त गर्ने तथा आत्महत्याको प्रयास गरिसकेको बालबालिकाको सन्दर्भमा भने गोपनीयता भङ्ग गर्नुपर्ने हुन्छ।
३. भावनाहरु व्यक्त गर्न प्रोत्साहन गर्ने – सक्रिय श्रवण गर्ने क्रममा विद्यार्थीहरुलाई भावनात्मक अभिव्यक्ति गर्न सहज वातावरण उपलब्ध गराउने र आफ्ना अभिव्यक्तिहरु भन्न प्रोत्साहन गर्नुपर्छ। अनावश्यक रुपमा आफ्नाकुराहरु भन्न दवाब भने नदिनु नै उचित हुन्छ ।विद्यार्थीको भावना प्रति सम्बेदनशील हुनुपर्छ।
४. चरित्रमा दोषारोपण नगर्ने – व्यक्तिलाई व्यक्तिको रुपमा हेर्नुहोस् समस्याको रुपमा होइन।कुनै पनि विद्यार्थीमा मनोसामाजिक समस्या देखापरेमा, विद्यार्थी तपाईंसँग सहज महसुस गरेर,केही कुरा सुनाइरहेको छ भने वा कोही अन्य व्यक्तिमार्फत विद्यार्थीको समस्याहरु थाहा पाउनुभयो भने दोषी पात्रको रुपमा हेर्नुभएन। साथ-साथै, साथीहरूको अगाडि हप्काउनेभन्दा वास्तवमा कुरा के हो भनेर बुझ्न तर्फ लाग्नुपर्छ।
५. समस्या को गहिराई बुझ्ने- आफ्ना विद्यार्थीमा आएको व्यवहारगत परिवर्तनका आधारमा, शारीरिक अवस्था,भावनात्मक लक्षण आदिको आधारमा पनि कहिले-काहीँ शिक्षकले समस्याको गम्भिरता अनुमान लगाउन सक्छन्। गम्भिरताको आधारमामै, विद्यार्थीको लागि के गर्दा उचित हुन्छ भनेर, सोहीअनुरुप सल्लाह दिन सकिन्छ। जस्तै : एक महिना अगाडिसम्म कक्षा- कार्यमा निकै सहभागी विद्यार्थी, एक्कासी साथीहरुसँग बोलचाल कम गरेको छ, शिक्षकसँगकोअन्तरक्रिया न्यून छ, अरु शिक्षकको पनि यस्तै गुनासो छ भने यो एउटा समस्या हुनसक्छ। समस्याको गम्भिरता हेरेर विद्यालय प्रमुखसँग वा अभिभावकलाई पनि भन्नु जरुरी हुन्छ।आवश्यक परेको खण्डमा मनोविमर्शकर्ता, मनोबिद वा मनोचिकित्सकलाइ सिफारिस गर्न पनि सकिन्छ।
६. सामना गर्ने तरिको लेखाजोखा गर्ने- मनोसामाजिक समस्याले गर्दा सकरात्मक वा नकरात्मक सामनाका तरिका विद्यार्थीले उपनाएका हुनसक्छन्। नकरात्मक (आक्रामक वा हिंसात्मक बन्नु, चोरी,चुरोट वा सुर्तीजन्य पदार्थ खाने,अरुलाई हिर्काउने, सामान फ्याँक्ने ) र सकारात्मक (आफ्ना मनोभावलाई डायरीमा लेख्नु, व्यायाम गर्नु, संगीतलाई सुन्नु, घरपालुवा जनावरसँग खेल्ने आदि) कस्तो तरिका उपनाएको छ,बुझ्नु जरुरी छ। कक्षामा रहदा श्रृजनात्मक क्रियाकलापमा पनि सहभागी गराउन सकिन्छ।
७. अनावश्यक आशा नदेखाउने- शिक्षकहरूले संवेदनशील भएर कुरा सुनिरहँदा, विद्यार्थीमा सकरात्मक सामना प्रवाह गरिराख्दा शिक्षकले अनावश्यक आशा देखाउनुभन्दा विद्यार्थीको अभिभावकसंँग मिलेर विद्यार्थीको मद्दत गर्नतर्फ लाग्नुपर्छ। वास्तवमा शिक्षकको यस खालको कदम उपयुक्त हुनसक्छ।
शिक्षकको भूमिका निर्वाह गर्ने क्रममा,आफ्नो ख्याल राख्नु,आफुलाई समय दिनुपनि उत्तिकै महत्वपूर्ण हुन्छ।
लेखक नेपाल महिला सामुदायिक सेवा केन्दमा कार्यरत मनोविमर्शकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*