Home / Feature Breaking news / राप्तीमा व्यवस्थित सहर निर्माणका लागि चक्रपथ

राप्तीमा व्यवस्थित सहर निर्माणका लागि चक्रपथ

लिलाधर वली
दाङ, १० माघ । लुम्बिनी प्रदेशको राजधानी दाड देउखुरीको राप्ती गाउँपालिकाले व्यवस्थित सहर निर्माणका लागि चक्रपथ निर्माणको कामलाई तीव्रता दिएको छ । गाउँपालिकाका ९ वटा वडाहरुमध्ये ८ वटा वडाको भू–भागलाई समेट्ने गरी चक्रपथ निर्माणको कामलाई अघि बढाइएको राप्ती गाउँपालिकाले जनाएको छ । वहुवर्षीय योजनाका रुपमा टेण्डर प्रक्रियामार्फत् चक्रपथ निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको हो ।

राप्तीका सबै वडालाई सडक सञ्जालसँग जोड्दै राप्तीबासीलाई हिड्नका लागि सहजतासँगै गाउँपालिकामा व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले चक्रपथ निर्माणको कामलाई अघि बढाइएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । राप्ती गाउँपालिकाको वडा नं १ को भालुवाड, वडा नं. २ को कटाह, पथरगढवा–छोट्की सिसहनिया हँुदै वडा नं. ८ लाई छुने गरी ३४ किलो मिटर सडक निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष सुवेदीले बताए ।

‘राप्ती गाउँपालिकामा व्यवस्थित सहरीकरणसँगै जनताको सहजताका लागि चक्रपथ निर्माणको कामलाई अघि बढाएका छौँ’–गाउँपालिका अध्यक्ष सुवेदीले भने–‘अहिलेसम्म करिब ७÷८ किलोमिटर चक्रपथ निर्माणको काम सकिएको छ ।’ चक्रपथ निर्माण अन्तर्गत सडक सञ्जाल नपुगेको ठाउँमा नयाँ ट्रयाक खन्नेदेखि सडक पिच गर्नेलगायतका कामहरु भइरहेको उनले बताए ।

पूर्वी भालुवाङ र पश्चिमको सिसहनियाँबाट दुवै तर्फबाट चक्रपथ निर्माणको काम सुरु गरिएको समेत उनले बताए । ‘चक्रपथ निर्माणको काम चाँडै होस् भनेर पूर्व–पश्चिम दुवै ठाउँबाट निर्माणको काम भइरहेको छ’–गाउँपालिका अध्यक्ष सुवेदीले भने–‘राम्रो काम भइरहेकाले जतिसक्यो चाँडै निर्माण सम्पन्न हुनेछ ।’

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्र तोकिएकाले पनि चक्रपथ निर्माणलाई महत्वका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले निर्माण गर्न सुरु गरेको चाक्रपथ निर्माणमा प्रदेश सरकार र केन्द्र सरकारले पनि सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष सुवेदीले बताए । उनकाअनुसार समपुरक कोषअन्तर्गत लुम्बिनी प्रदेश सरकार र सहलगानी अन्तर्गत संघीय सरकारले हरेक वर्ष चक्रपथ निर्माणका लागि बजेट सहयोग गर्ने गरेको बताए ।

‘राप्तीमा चक्रपथ निर्माणका लागि गाउँपालिकासँगै प्रदेश सरकार र संघीय सरकारको पनि सहयोग रहेको छ’–अध्यक्ष सुवेदीले भने–‘जसले गर्दा चक्रपथ निर्माणमा गाउँपालिकालाई सहजता भएको छ ।’ चक्रपथ निर्माणमा हरेक वर्ष करिब तीन करोडको हाराहारीमा बजेट खर्च हुने गरेको समेत उनले बताए । अहिले १२ मिटर चौडाई रहेको उक्त चक्रपथ निर्माणका लागि ८० देखि ८४ करोडको लागत अनुमानित गरिएको छ ।

चक्रपथलाई गाउँपालिकाले निर्माण गर्न थालेका अन्य ६ वटा उत्तर–दक्षिणका सडकहरुसँग जोडेर अघि बढाउने काम भइरहेको बताए । ‘चक्रपथले राप्ती गाउँपालिकालाई छुने र चक्रपथलाई छुने गरी थप ६ वटा सडकहरु विस्तार कालोपत्रेको काम पनि गाउँपालिकाले गरेको छ’–उनले भने–‘यो काम पूरा भएपछि गाउँपालिकाका धेरै जनताले लाभ लिन सक्छन् ।’

चक्रपथ निर्माणले गाउँसम्म सडक सञ्जाल जोडिने र गाउँमा उत्पादन भएका कृषिजन्य पदार्थलाई समेत बजारसम्म ल्याउन किसानलाई सहजता हुने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*