Home / Feature Breaking news / एउटा घर जहाँ थला परेको एक जोडी

एउटा घर जहाँ थला परेको एक जोडी

दाङ, २९ पुस । घोराही बजारको नजिकै एउटा घर जुन घरमा एकजोडी थला परेका छन् । उनीहरु विरामीले थला परेपछि हिँड्डुल गर्न समेत गर्न सक्दैनन् । बिरामी भएको कारण हिँड्डुल गर्न तथा काम गर्न नसक्ने भए पनि घरमा चुलोसमेत बाल्न समस्या भएको छ ।

उपचारमा समेत उस्तै समस्या भएको छ । विगत २ महिनादेखि उनीहरु यसरी घरमै थला परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ सुनडबरी टोल निवासी ४६ वर्षका काले बिक र ४३ वर्षका मनु बिक आर्थिक समस्याका कारण रोगसँगै घरमा बसेर रोगसँग लडिरहेका छन् । रकम अभावका कारण उपचार गर्न नपाएका उनीहरु दुवै जनालाई अहिले खान बस्न समेत समस्या भएको छ । श्रीमान काले बिक जण्डिस रोगबाट ग्रसित रहेका छन् ।

त्यस्तै कलेजोमा पानीको फोका फोका भएको र मृगौलामा दाग रहेको उनले बताए । श्रीमती मनुलाई मुटुमा समस्या र फोक्सोमा पानी जमेको उनीहरुको भनाइ रहेको छ । तर उनीहरुको उपचार हुन सकेको छैन् । भारतमा होटेलमा काम गरेर गुजारसँगै श्रीमतीको उपचार गदै आएका उनी आफै बिरामी भएपछि थप समस्यामा परेका छन् । उनकी श्रीमती विगत ३ वर्ष पहिलेदेखि विरामी रहेकी थिइन् ।

श्रीमानको रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको र प्रतिष्ठानवाट नेपालगञ्ज पठाए पनि आर्थिक समस्या भए पछि जान नसकेको उनले बताए । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेपालगञ्ज पठाउनुभएको हो तर रकम नहुँदा घरमै बस्नुपरेको छ’, ‘बुढी पहिलैदेखि बिरामी थिई उसैको उपचार गरौँला भन्ने समयमा म आफै पनि बिरामी भएँ, म आफै बिरामी परेपछि अहिले कमाउने मान्छे नै छैन्, अब उपचार पनि के पैसाले गराउने हो र बाबु’, उनले भने । पैसा नभएपछि दुवै जना घरमा नै बसेको उनले बताए ।

२ वटा छोराहरु रहे पनि विगत केही वर्षबेखि बेपत्ता रहेको उनी बताउँछन् । उपचारको लागि स्थानीय सरकारले रोगको उपचारका लागि सिफारिस मात्रै दिएको अरु कुनै सहयोग नगरेको उनीहरुको गुनासो रहेको छ । ‘वडा नं. १८ ले रोगको उपचारका लागि सिफारिस गरेको छ तर सिफारिस पत्रले अस्पतालमा काम गर्दैन्, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्रले काम नगरेपछि बाहिर पनि आर्थिक समस्याकै कारण उपचार गर्न गएका छैनौँ’, उनले भने– ‘म १०÷१५ दिनदेखि घरमै सुतिरहेको छु, श्रीमती झन् पहिलैदेखि बिरामी छन् ।’

अहिले घरमा तीनजनाको परिवार रहेको छ । छोरा–बुहारी दुवै जना रोगले थला परेपछि दैनिकी गर्जो टार्न समेत समस्या परेको आमा खेती बिकले बताइन् । ‘अहिले त साँझ बिहान पनि के खाम भन्ने समस्या भएको छ, उपचार त के पैसाले गर्ने होर ?’ उनले भनिन्– ‘उपचार पनि दाङमा हुँदैन् रे, बाहिर जाने पनि पैसा छैन् ।’

अहिले आर्थिक अभाव रहेको परिवारलाई अहिले गाउँलेहरुले सहयोग उठाएर साँझ–बिहानको छाक टार्न बाध्य भएको काले विकले बताए । ‘छिमेकी दाजुभाइले सहयोग गरिरहनुभएको छ, यो नभएको भए त हामी रोगले भन्दा पनि भोकले मर्ने थियौँ’ उनले भने । घर निर्माण गर्दाको रकम समेत तिर्न नसकेको उनले बताए ।

उपचारका लागि अपिल

आर्थिक समस्यामा रहेका विक परिवारलाई आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका छन् । ‘हामी रोग र भोकसँगै लडिरहेका छौँ, कतैबाट सहयोग भएमा उपचार गराउने थियौं’, उनले भने । कसैले सहयोग गरेमा उपचारको लागि बाहिर जाने उनको भनाइ रहेको छ ।

उपचार पाएमा आफूहरु निको हुने आशा रहेको उनी बताउँछन् । उनीहरुलाई छिमेकीले औषधि किनेर ल्याइदिने गरेको स्थानीय मोतीराम विकले बताए । खानाको लागि छिमेकीले पालो गरेर सहयोग गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*