Home / Feature Breaking news / कोइलावासमा आँखा उपचार केन्द्र सञ्चालन हुने

कोइलावासमा आँखा उपचार केन्द्र सञ्चालन हुने

तुलसीपुर, २१ मंसिर । दाङ –भारत सीमामा पर्ने कोइलावासमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । गढवा गाउँपालिका वडा नं. ८ कोइलावासमा आँखा उपचार केन्द्रको भवन निर्माणसँगै केही समयपछि आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएको हो ।

गढवा गाउँपालिका अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहयोगमा कोइलावसमा आँखा उपचार केन्द्रको भवन निर्माण सम्पन्नसँगै आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज आँखा अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

लमही आँखा अस्पतालबाट साप्ताहिक आँखा उपचार सेवा यस अघि दिए पनि अव भने आँखा उपचार केन्द्र सञ्चालन गरी नियमित आँखा उपचार सेवा दिने तयारी गरेको आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए ।

यस अघि नै गढवा गाउँपालिका वडा नं. ८ ले आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति संघलाई करिब १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा भवन निर्माण गरेको र अब केही समयमै आँखा उपचार केन्द्र सञ्चालन गरी त्यहाँको जनतालाई आँखा उपचार सेवा प्रवाह गर्न आफूहरु लागेको अध्यक्ष गिरीले बताए ।

त्यस्तै नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले कोइलावासमा आँखा उपचार केन्द्र सञ्चालनका लागि तयारी गरी सरोकारवालाहरुसँग छलफल गरेको बताए । गढवा गाउँपालिका, वडा र आँखा स्वास्थ्य कार्यक्रमकाबीच छलफल गरी भवन हस्तान्तरण, उद्घाटन र सेवा सञ्चालन पुस महिनाभित्र गर्ने निर्णय भएको अस्पतालका वरिष्ठ प्रशासक शम्शेर थापाले जानकारी दिएका छन् ।

‘पुस १५ गते मोटामोटी मिति तय गरेका छौँ, त्यही मितिमा आँखा उपचार केन्द्र सञ्चालन गर्नेमा हामी तयारी गरेका छौँ’–उनले भने । त्यस्तै कोइलावासमा आँखा उपचार केन्द्र सञ्चालनका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र तत्काल आँखा उपचार सञ्चालन गर्न आफूहरु लागेको वडाध्यक्ष सद्धाम सिद्दिकीले जानकारी दिए ।

कोइलावसमा पछिल्लो समयमा चहलपहल बढ्दै गएको र आँखा उपचार केन्द्र सञ्चालनसँगै यहाँका जनताले सहज आँखा उपचार सेवा पाउने बताए । उनले नेपाल नेत्रज्योति संघ, आँखा अस्पताल र आफूहरुबीच छलफल गरी तत्काल आँखा उपचार केन्द्र सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले त्यसका लागि आफूहरुले सहयोग र भवनमा आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*