Home / Feature Breaking news / ३ वर्षमा सात हजार ७ सय प्रहरीले छाडे जागिर
फाइल तस्बिर

३ वर्षमा सात हजार ७ सय प्रहरीले छाडे जागिर

काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो तीन वर्षमा ७ हजार ७ सय १४ जनाले जागिर छाडेको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्‍कअनुसार दैनिक औसतमा ७ जनाले जागिर छाडेको देखिन्छ । सुरक्षा निकायमा तालिमप्राप्त जनशक्तिले बीचैमा जागिर छाड्नुलाई उपयुक्त मानिँदैन ।

जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी पाइएको छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी देखिन्छ । बढ्दो निराशा, सेवा-सुविधाको कमी, बढुवामा समान अवसर नपाउनु र जागिर छाडेर वैदेशिक रोजगारीमा राम्रो अवसर पाउनुले जागिर छाड्नेको संख्या बढेको प्रहरी अधिकारी दाबी गर्छन् ।

आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । ०७४/७५ मा राजीनामा दिनेमा १३ सिनयर अधिकृत, जुनियर अधिकृत ४११, हवल्दार र जवान २१०९ र प्रहरी कार्यालय सहयोगी ३१ जना थिए ।

त्यतिबेला प्रहरीको कुल दरबन्दी ७२ हजार ७४४ थियो । जागिर छाड्नेको प्रतिशत ३ दशमलव ५२ देखिन्छ । उक्त आर्थिक वर्षमा दैनिक औसतमा जागिर छाड्नेको संख्या सातजना देखिन्छ ।

आर्थिक वर्ष ०७५/७६ मा यो संख्या बढेर तीन हजार ७३ पुगेको देखिन्छ । सो अवधिमा सिनियर अधिकृत २४, जुनियर अधिकृत ४५६, हवल्दार-जवान दुई हजार पाँच सय ११ र प्रहरी कार्यालय सहयोगी ८२ थिए । ०७५/७६ मा प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो । सो अवधिमा तीन हजार ७३ अर्थात् ४ दशमलव ०५ प्रतिशतले जागिर छाडे । जुन दैनिक आठजना बढीले जागिर छाडेको तथ्याङ्‍कबाट देखिन्छ । सिनियर अधिकृतले व्यक्तिगत कारण र बढुवामा भएको असन्तृष्टिका कारण जागिर छाडने गरेको पाइएको छ भने तल्लो दर्जाले भने जागिरबाट परिवारै पाल्न नसक्नेलगायत समस्याले बीचैमा छाड्नुपरेको बताउँछन् ।

यस्तै आर्थिक वर्ष ०७६/७७ मा प्रहरी दरबन्दी ८० हजारको हाराहारीमा छ । ०७६/७७ मा २ हजार ७७ जनाले जागिर छाडेको पाइएको छ । यो समयमा एक डीआईजी, एक एसपी, तीन डीएसपी र ११ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । यस्तै १२९ जना सई, ३२३ असई, १३२७ हवल्दार, २३४ जवान र ४८ जना कार्यालय सहयोगीले जागिर छाडेको देखिएको छ ।

तालिमप्राप्त जनशक्ति किन जागिर छाड्न खोज्छ त्यसको विकल्पबारे गम्भीर समीक्षा गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।  जागिर छाडेका प्रहरी कर्मचारी प्रायः विदेश जाने गरेका छन् । तल्लो तहका प्रहरी अधिकांश सेक्युरेटी गार्डमा तेस्रो मुलुक जाने गरेको पाइएको छ ।

सिनयर प्रहरी अधिकृत भने बढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् । जागिर छाड्ने क्रम बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले भने त्यसको कारण र समाधानको खोजी सुरु गरेको छ । जसका लागि एक अध्ययनसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*