हापुरे,१३ असोज । बिद्यालय सञ्चालनमा आएपछि बबई गाउँपालिकाले अनुगमन सुरु गरेको छ । असोज ११ गतेदेखि बिद्यालय सञ्चालनमा आएपछि अनुगमन सुरु गरिएको हो ।
सामाजिक दुरी कायम गर्ने, साबुन पानीको ब्यबस्थापन र मास्कको प्रयोग गर्दै बबई गाउँपालिकाले बिद्यालय सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि बन्द रहेका बिद्यालय सञ्चालनमा आएका हुन् ।
बिद्यार्थीको पढाई समस्या रहेको भन्दै गाउँपालिकाले बिद्यालय सञ्चालनमा ल्याएको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । यसअघि सिकाई केन्द्र मार्फत् पढाई सञ्चालन गरेको बबई गाउँपालिकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ४ बमोजिम बबई गाउँपालिकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । स्थानीय सरोकारवालासंग छलफल गरेर सबै सामुदायिक बिद्यालयले कार्य योजना शिक्षा शाखामा पेश गरेका थिए ।
बिद्यालय अनुगमन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, शिक्षा शाखाका उपप्रमुख जितबहादुर केसीको सहभागीता रहेको थियो । जनकल्याण माबि पदमपुर र भानुभक्त माबि कौशिलापुरको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बिद्यार्थीले मास्क प्रयोग नगरेको अबस्था, साबुन पानीको ब्यबस्थापन र सामाजिक दुरी कायम भए नभएको बिषयमा जानकारी लिइएको थियो । साथै अनुगमन कार्य निरन्तर रहने जानकारी गराइएको छ ।