दाङ,१४ साउन । दाङमा खोलाले एम्वलेन्स बगाएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने हापुर खोलाले बुधवार विहान बिरामी लिएर तुलसीपुरतिर जादै गरेको एम्बलुेन्स बगाएको हो ।
घोराहीबाट विरामी लिएर तुलसीपुर जादै गरेको रा १ च ८९२ एम्वुलेन्सलाई विहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर बिकले जानकारी दिएका छन् । खोलाले बगाएको एम्वुलेन्सलाई प्रहरीले विहान साढे ५ बजेतिर उद्धार गरेको थियो ।
‘खोलाले एम्वुलेन्स बगाएको खवर पाएपछि २० मिनेटमै हामी घट्नास्थल पुगेर एम्वुलेन्समा रहेका ३ जनालाई उद्धार गरेका थियौ’–उनले भने–‘बाँकी दुई जनालाई केही समय पछि उद्धार गरेका हौ ।’ उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र इलाका प्रहरी कार्यालय नारायणपुरको ७ जना प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो ।
खोलाले एम्वुलेन्सलाई बगाएर सडकदेखि २० मिटर तल लगेको अवस्थामा प्रहरीले डोजर प्रयोग गरेर एम्बुलेन्समा रहेका चालक,बिरामी र उनीहरुका आफन्तहरुको उद्धार गरेको प्रहरीले जनाएको छ । ‘नारायणपुरतिरबाट बिरामी लगएर एम्वुलेन्स तुलसीपुर जादै गर्दा खोलाले एम्वुलेन्सलाई बगाएको रहिछ’–इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी प्रमुख एव सई बिकले भने–‘एम्बुलेन्स बगाएको खवर पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नारायणपुरको टोली भएर उद्धार गरिएको हो ।’
प्रहरीले एम्वुलेन्सबाट एम्वुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी बिष्णु सार्की, उनकी श्रीमति शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ बर्षीय शरद नेपालीलाई सकुसल उद्धार गरेको थियो । खालामा पानी धेरै रहेका कारण उक्त सडक खण्डमा साना सवारी साधन अझै चल्न नसकेको प्रहरीले जनाएको छ ।
घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाहरुले बर्षेनी साना सवारीसाधनहरु बगाउने गरेका छन । उक्त सडक खण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतका पुल भएपनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायतका खोलाहरुमा पुल नबन्दा बर्षादको समयमा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको छ ।