Home / Feature Breaking news / सरकार र नेकपाको धारणा सार्वजनिक गरः कांग्रेस

सरकार र नेकपाको धारणा सार्वजनिक गरः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिका बारेमा सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति विमति प्रकट गर्दै सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको हो ।

“प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गर्दछु,” प्रवक्त विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत नभए उनले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको थप पुष्टि हुने प्रवक्ता शर्माले उल्लेख गरेका छन् । पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिले केही गम्भीर प्रश्न सिर्जना गरेको शर्माको भनाइ छ ।

“प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ– देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरूले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?,” कांग्रेसले प्रश्न गरेको छ ।

वर्तमान परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको कांग्रेसको निष्कर्ष छ । प्रवक्ता शर्माले विज्ञप्तिमार्फत् सरकारलाई विभिन्न चार वटा प्रश्न पनि गरेका छन् ।

यस्ता छन् प्रश्नहरू–
(१) बाढी–पहिरोमा कैयौंको मृत्यु भएका बेला देशका प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? केवल समवेदनाको एक वक्तव्य ?

(२) कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कैयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने ?
(३)    सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? गम्भीर कूटनीतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको व्यक्तिगत हतियारका रूपमा उपयोग गर्ने ?
(४)    नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलकदमीभन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणीमार्फत् उहाँले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*