घाेराही, १४ असार
घोराहीका एक युवा व्यवसायिले आफ्नो जन्मदिन पारेर घोराही १५ स्थित क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहयोग गरेका छन् ।
घोराही स्थित बेनेली मोटरसाईकल शोरुमका सञ्चालक सन्जिव पछाईँले आफ्नो जन्मदिनका अवसरमा घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना मावि क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहयोग गरेका हुन् ।
उनले घोराही १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेलाई क्वारेन्टाईन स्थलमा चामल, दाल, नुन, तेल , अण्डा लगाएका खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
‘अहिले क्वारेन्टाईनमा बसिरहनु भएका नागरिकहरुको खानपानमा थोरै भएपनि सहजता होओस् भन्ने उदेश्यले मैले खाद्य सामाग्री सहयोग गरेको हुँ,’ पछाईँले भने ‘जन्मदिनलाई सामाजिक कार्यमा उपयोग गरौँ भन्ने अभिलाषा जाग्यो ।’
सहयोग सामाग्री बुझ्दै वडा अध्यक्ष पाण्डेले पछाईँले क्वारेन्टाईनमा बसेकाहरुलाई गरेको सहयोगको प्रशंशा गरेका थिए । अहिले यो क्वारेन्टाईनमा २२ जना नागरिक बस्दै आएका छन् ।