Home / Feature Breaking news / विश्‍व स्वास्थ्य स‍ंगठन भन्छ- नेपालमा कोरोनाको अति उच्च जोखिम हट्याे

विश्‍व स्वास्थ्य स‍ंगठन भन्छ- नेपालमा कोरोनाको अति उच्च जोखिम हट्याे

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो। ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने, ‘त्यसैले नेपाल कोभिड -१९ को अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। कोभिड -१९ को परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ। नेपालमा कोभिड -१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड- १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड- १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ। दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन्। यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ। ती अस्पतालमा कोभिड- १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ।

कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि ९लोकल ट्रान्समिसन० नेपाल कोभिड -१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो। अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट ९आरडीटी० दुवै विधिबाट परीक्षण गरिएको छ। अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा पीसीआरबाट नौ हजार ४०९ र आरडीटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ। तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा ११ जना उपचारपछि घर फर्किसकेका छन्।

यसैगरी कोभिड -१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ। त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन्। अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन्। नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ। अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन्। विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड -१९ बाट संक्रमित भइसकेका छन्। अहिलेसम्म एक लाख ९७ हजार ३५४ बिरामीले कोभिड -१९ को कारणले ज्यान गुमाइसकेका छन्।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*