कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ।
सिमकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी वीरमता शाहीले मङ्गलबार जन्माएकी जुम्ल्याहा छोरा र छोरीको नाम कोरोना र भाइरस राखिएका प्रसुति गृहकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।
‘पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ’, उनले भनिन्, ‘जुम्ल्याहा बच्चाको आमा वीरमति शाही र बुबा हस्तबहादुर शाहीले नै सहमति दिएपछि अस्पतालको पुर्जामै सो नाम राखिदिएका हौँ।’
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी बोहराका अनुसार जन्मिदा कोरोनाको तौल दुई किलो पाँच सय ग्राम र भाइरसको तौल एक हजार सात सय ग्राम भएको बताइन्। जिल्ला स्वास्थ्य कार्यालयको प्रसुति गृहमा आमा र बच्चा रहेका छन्। उनीहरूको स्वास्थ्य सामान्य रहेको अनमी बोहराको भनाइ छ।
कोरोना भाइरसले विश्वभर महामारी फैलाएका बेला उनीहरूको जन्म भएपछि यस्तो नाम राख्न आमा बुबा राजी भएको स्वास्थ्यकर्मीको भनाइ छ।